arrow

'संसदको अवरोध' निर्वाचन रोक्ने अलोकतान्त्रिक कदम : प्रधानमन्त्री प्रचण्ड

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
PM-dhading.jpeg

धादिङबेसी । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुपर्ने बेला प्रतिपक्षी दलले संसद अवरुद्ध गरेर अलोकतान्त्रिक कदम चालेको बताएका छन् ।

बिहीबार दिउँसो धादिङ् उद्योग वाणिज्य संघले धादिङ्बेसीमा आयोजना गरेको पाँचौं धादिङ् महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘संविधान कार्यान्वयन देशको आवश्यकता र सरकारको प्राथमिकता हो । आफ्ना बिमतिहरुलाई संसदीय मान्यता भित्रैबाट संसदमा राख्न सकिन्छ ।

संविधान संशोधन, महाअभियोग, निर्वाचन विद्येयक संसदमा दर्ता भएका छन् । यस्तो बेला प्रमूख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्नु अलोकतान्त्रिक कदम हो । संसदीय प्रणालीमा विश्वास गर्ने पार्टीले आफ्ना बिमतिहरु संसदीय प्रक्रियाभित्रैबाट राख्नुपर्छ । संसद अवरुद्ध गरेर एमालेले निर्वाचन रोक्ने प्रयास गर्दैछ ।’

संविधान संशोधन प्रस्ताव कांग्रेस—एमालेको एजेण्डा भएको बताउँदै प्रधानमन्त्री दाहालले थपे, ‘प्रतिपक्षी दलका साथीहरु संविधान संशोधन प्रस्तावले देशै बिखण्डन गर्छ भन्ने जसरी कुप्रचार गर्नुभएको छ । अहिले संसदमा दर्ता भएको प्रस्ताव माओवादीको प्रस्ताव होइन, विगतमा कांग्रेस र एमालेले संयुक्त रुपमा अघि सारेको प्रस्ताव हो । अहिले राजनीतिक निकासका लागि मध्यमार्गी प्रस्तावका रुपमा सरकारले त्यही विषयलाई अघि सारेको छ । आफूले अघि सार्दा त्यही प्रस्ताव राष्ट्रवादी र अरुले सार्दा राष्ट्रघाती कसरी हुन्छ ? यो जनतालाई भ्रमित पार्ने र राष्ट्रिय एकता भाँड्ने कुतर्क मात्र हो ।’

सरकारले गरेका कामबारे जानकारी दिँदै दाहालले भने, ‘नयाँ सरकार गठन भएको चार महिनाको अवधिमा धेरै महत्वपूर्ण काम भएका छन् । मैले राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तर निरीक्षण गरिरहेको छु । मेरो अनुगमनपछि धेरै आयोजनाहरुको प्रगति उत्साहवद्र्धक छ । पूनर्निर्माण, वैदेशिक रोजगारमा गएका नेपालीलाई राहत, जनता पेन्सन, गरीबका लागि सरकार कार्यक्रममार्फत् जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने प्रयास गरिएको छ । सरकारले जनताको जीवन उकास्न नयाँ कार्यक्रमसहित प्रस्तुत हुने तयारी गर्दैछ ।’

धादिङ् जिल्ला नेपालको कृषि र औद्योगिक उत्पादनमा अग्रणी जिल्ला भएकोमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘कृषि र मूख्य गरी तरकारी खेतीमा धादिङ् जिल्ला अग्रणी स्थानमा छ । पर्यटन र औद्योगिक विकासका दृष्टिले पनि धादिङ् नेपालको महत्वपूर्ण जिल्लामा पर्दछ । अहिले बुढीगण्डकी जलासययुक्त आयोजना अघि बढ्दैछ, यसले धादिङ्को मात्र नभएर सिंगो देशकै अर्थतन्त्र र समृद्धिमा सकारात्मक योगदान दिनेछ ।’

कार्यक्रममा पूर्वमन्त्री, सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले महोत्सवले धादिङ् जिल्लाको कृषि, पर्यटन र स्थानीय बजार प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने बताउँदै त्यसको उचित वातावरण बनाउन सरकारसँग आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ