arrow

सुशासनका लागि मेची–महाकाली ‘युवा सङ्कल्प यात्रा’

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
nc-susashan-limbu-shahi.jpg

मोरङ ।  नेपाली कांग्रेसका युवा नेताहरुको दश बुँदे एजेण्डासहित शुक्रवार झापाबाट शुरु भएको मेची–महाकाली ‘युवा सङ्कल्प यात्रा’ भ्रष्टाचारको उन्मूलन र सुशासनको लागि भएको अभियानका संयोजक भुपेन्द्रजङ्ग शाहीले बताएका छन् ।

“कांग्रेस र एमालेको अहिलेको सरकारलाई असफल हुने छुट छैन, ठूला पार्टीहरूको सरकार बनेको बेला जनतामा एक किसिमको आशा, भरोसा र विश्वास जगाउन सक्नु  जगाउनुपर्यो” नेता शाहीले बताए । 

देशमा आर्थिक क्रान्ति गर्दै सुशासन ल्याउन सक्नुपर्यो नेता शाहीले भने, समग्र ढंगले देशलाई उन्नतिको बाटोमा लैजान सक्नुपर्छ सरकारका लागि सरकार मात्रै बनेर अर्थ हुँदैन ।

यात्राले युवालाई राजनीतिक आन्दोलनको मात्र नभएर आर्थिक विकासको पनि साझेदार बनाउने उद्देश्य लिएको जनाउँदै नेता शाहीले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मूलन, सुशासन, युवा उद्यमशीलताको प्रवर्धन र राष्ट्र निर्माणको नेतृत्व गर्न पनि अभियान सार्थक हुने धारणा राखेका छन् ।

 कार्तिक २३ गते झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान शनिबार दिउँसो मोरङको बेलबारी आइपुगेको थियो । उक्त सङ्कल्प यात्रा इटहरी, लहान, जनकपुर,  लालबन्दी, वीरगञ्ज,  भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मंसिर ४ गते महाकाली पुगेर समापन हुनेछ । 

बेलबारीस्थित नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति तथा संघीय सांसद डिगबहादुर लिम्बूले सङ्कल्प यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए । उक्त यात्रालाई बेलबारी नेपाली कांग्रेस बेलबारीका नगर सभापति छत्र लिम्बू, क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव राजेन्द्र अधिकारी लगायतले स्वागत गरेका थिए ।

युवालाई रोजगारीको सुनिश्चितता, भ्रष्टाचार उन्मूलन र सुशासन, महँगी र मूल्यवृद्धि नियन्त्रण, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व, नागरिक मैत्री सरकार, विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही, सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता, उद्यमशीलता नवप्रवर्तन र कृषिमा लगानी, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत र नैतिक मूल्य मान्यतामा आधारित राजनीति सहितका दश बुँदे एजेण्डा राखेर यात्रा शुरु भएको हो ।



नयाँ