arrow

भूकम्पपीडितलाई कृषि सामग्री वितरण

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
earthquake-321.jpg.jpeg
भक्तपुर । भक्तपुरका भूकम्प प्रभावित कृषकलाई दुई करोड नौ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न कृषि सामग्री अनुदानस्वरुप प्रदान गरिने भएको छ । भूकम्पका कारण कृषि क्षेत्रमा समेत प्रभाव परेको भन्दै राष्ट्रिय पुनःनिर्माण कोषले जिल्ला कृषि विकास कार्यालयमार्फत भूकम्प प्रभावितको रातो र सेतो परिचयपत्र पाएका कृषकलाई कृषि सामग्री अनुदान दिइन लागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिए । 
 
भूकम्प प्रभावितलाई व्यावसायिक कृषिमा प्र्रोत्साहन गर्ने उद्देश्यले कृषि सामग्री प्रदान गर्न लागेको बताउँदै उनले भूकम्प प्रभावित कृषक, कृषक समूह वा कृषि सहकारीमार्फत आवेदन आह्वान गरेको जानकारी दिए । 
 
कृषि कार्यालयले ९० प्रतिशत अनुदानमा धान, गहुँ झार्ने थ्रेसर ३०, विद्युतीय मकै छोडाउने मेसिन ६, खेत जोत्ने मिनि टिलर २१, सिँचाइ प्रयोजनका लागि डिप इरिगेसन ६४ र १० हजार लिटर क्षमताको रेन वाटर हारभेस्टिङ प्लास्टिक पोखरी ६४, पानी तान्ने पम्प आठ र भण्डारण ब्याग १२ हजार आठसय ५७ वटा प्रदान गर्ने कृषि कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिए । 
 
कोषले प्रदान गर्ने अनुदान प्राप्त गर्नका लागि भूकम्प प्रभावित कृषकले नागरिकताको प्रतिलिपि, भूकम्पपीडित परिचयपत्र र जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि समावेश गर्नुपर्ने प्रावधान रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ