arrow

सरकार आफ्नै कारणले ढल्ने माओवादीको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
agni-sap-07-25.jpg

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरे । उनले देशमा राम्रा काम गरिरहेका कर्मचारीहरूलाई हटाउने खेल भइरहेको आरोप लगाए । 

उनले देशमा असाधारण परिस्थिति बन्दै गएको बताए । उनले असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीहरूको बीचमा एकरूपता र समझदारी हुन जरुरी रहेको बताए । उनले सरकार राजनीतिक दलहरू फुटाउने चलखेलमा लागिरहेको आरोप समेत लगाए । संविधान संशोधन अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए । । राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने कुचेष्टा भइरहेको आरोप लगाए । 

उनले भने, ‘यो देशमा राम्रो काम गरिरहेका छन्, उहाँहरूलाई हटाउने खेल भइरहेको छ । असाधारण परिस्थिति देशमा बन्दै छ । त्यसको लागि सबै पार्टीहरूको बीचमा एकरूप समझदारी हुनुपर्ने, राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने खालको पनि चर्चा चलिरहेको छ । यी सबै कुरालाई, अनि फेरि संविधान संशोधनको कुरा गरेर त्यो त आवरण मात्रै थियो, उहाँहरुलाई सत्तामा जानु थियो । जानका लागि उहाँहरुले संविधान संशोधनको कुरा गर्नुभएको थियो । हामी अब भन्छौँ, संविधान संशोधन गर्ने हो भने अग्रगमनको पक्षमा परिवर्तनको पक्षमा जनताका अधिकारहरू बढाउने पक्षमा गर्नुपर्छ । अरू कुरा त हामी गर्दै गरौँला । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । त्यसले मात्रै अहिले देखिएका विकृति, विसङ्गतिहरू, यो अस्थिरता हट्छ, राजनीतिक स्थायित्व ल्याउन सक्छ भन्ने हाम्रो विचार छ । निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ । सांसदहरू सबै नीति निर्माणमा लागुन्, मन्त्री हुने विज्ञ, विशेषज्ञहरू र जो विज्ञहरू छन् उनीहरूलाई बनाउनु पर्छ । एक पछि अर्को जनहित विपरीतमा जाँदै छ, यो सरकार, पहिलो र दोस्रो पार्टी मिलेर सरकार बन्दै छ, यसले अलिकति अधिनायकवादतिर, अलि तानाशाहीतिर जान्छ भन्ने थियो नि, अहिले ठिक त्यस्तै कुरा पुष्टि भइरहेका छन् । चाहे तपाईँ कीर्तिपुरको जग्गाको कुरा गर्नुस् । पहिलाको सरकारले जेजे गरेको थियो, भ्रष्टाचारका विरुद्धमा, सुशासनका पक्षमा, सामाजिक न्यायसहितको समृद्धि भनेको थियो, त्यो एक एक गरी उल्टिँदै छन् । राष्ट्रियताको सवाल झनझन पेचिलो, झनझन जटिल भइरहेको छ । लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने कुचेष्टा भइरहेको छ । जनजीविकाको सवालमा सरकार चुकिरहेको छ । यो सरकार त आफ्नै कारणले जान्छ जान्छ तर फेरि यो हामीले जनतालाई सही ढङ्गले परिवर्तनका पक्षमा, अग्रगमनका पक्षमा दिशा निर्देश गर्नुपर्छ ।’



नयाँ