- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मतियार र बिचौलीसँग कहिल्यै पनि सम्झौता नगर्ने बताएका छन् । मंगलबार नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पाण्डेले इमान्दार भएर काम गर्न खोज्नेहरुलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको बताएका हुन् ।
उनले भने, ‘पहिला राजनीति गर्ने व्यक्तिहरु बलियो हुनुहुन्थ्यो । अहिले स्वार्थ समूहका शक्तिशाली भएको देखिरहेको छु । मैले तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मान मर्दन गर्ने, मेरो मनोबल, आत्मबललाई गिराउने गरी काम गरिरहेका छन् ।’
उनले अगाडि भने, ‘म यो पशुपतिनाथको मन्दिर अगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा केही अनलाइनहरुलाई प्रयोग गरेर, केही बिचौलीका मतियारहरुले आरोप लगाएका छन्, करोड त के कौडी खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोका आगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहन्छु ।’
उनले आफू स्वार्थ समूहका मतियार र बिचौलीहरुसँग कहिल्यै पनि सम्झौता नगर्ने बताए । उनले देश र राष्ट्रको हितका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने प्रष्ट पारे ।
उनले आफू संस्कृति पढेको, धर्मप्रति आस्था र विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दे आफूले राजनीतिलाई सेवाभावको रुपमा बुझेको प्रष्ट पारे ।
राजनीतिक भित्र विकृति विसंगतीका मतियारहरुले तथ्य, प्रमाण र हल्लाका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्दे अफवाह फैलाइएको भन्दै आक्रोश व्यक्त गरे ।
‘कुन व्यक्तिले राजनीतिलाई दूरुपयोग गरिरहेको छ ? कुन व्यक्तिले राजनीतिलाई सदूपयोग गर्नु भएको छ ?’ भन्दै उनले भने, ‘म आत्मविश्वासको साथ भन्न सक्छु, बाल्मीकि क्याम्पसको स्ववियु सभापति हुँदा र मन्त्री हुँदासमेत आफ्नो जीवनशैलीमा कुनै परिवर्तन छैन ।’
मंगलबार नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले मन्त्री पाण्डेले क्यासिनो संचालनका लागि एक करोड कमिशन खाएको आरोप लगाएका थिए । अहिले विमानमा दोब्बर बढीले भाडा बढाएपछि धेरैले आक्रोश पोखिरहेका छन् ।