arrow

लडकेश्वरमा मंगलबार मेला,  पूर्णिमासम्म रूद्रीपाठ र पूजाअर्चना 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
ladkeshwor-mandir-kavre.jpg

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बल्थलीमा रहेको लडकेश्वर मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा मंगलबार मेला लागेको छ । 

पनौती नगरपालिका वडा नम्बर ११ स्थित लड्केश्वर मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन दर्शन तथा पूजाआजा गर्न दर्शनार्थीको ठूलो भीड लाग्ने गरेको छ ।

भगवान् विष्णुलाई पुज्ने दिनका रुपमा रहेको आजको दिन लडकेश्वर महादेवको मन्दिरमा ३५० वर्षअघिदेखि नै मेला लाग्दै आएको किंवदन्ती रहेको छ । 

तत्कालीन राजा भुपतेन्द्र मल्लले लडकेश्वर महादेव, बल्थली, पनौती, पलाञ्चोक हुँदै दोलखा भीमसेनकोसमेत दर्शन गर्नुका साथै पूजा गरेकाले पछि त्यसलाई निरन्तरता दिँदै मेला लाग्ने गरेको बताइएको छ ।

समुद्री सतहको झन्डै १४०० मिटर उचाइमा रहेको लड्केश्वर मन्दिरमा हरिबोधिनी एकादशीको दिन पूजा गर्नाले मनोकांक्षा पूरा हुने र परिवारमा बिरामी नहुने धार्मिक विश्वास रहेको छ ।

रोशी र लड्कु खोलाको सङ्गमस्थल नजिक चुनढुङ्गाभित्र रहेको उक्त स्थानमा पाप र धर्मद्वार छ भने उक्त द्वारमा रहेको एउटा सानो प्वाल र ठूलो प्वालमध्ये साना प्वालमा छिरी निस्कन सक्ने धर्मात्मा र निस्कन नसकी अड्कने पापी हुने जनविश्वाससमेत रही आएको छ । पाप र धर्मद्वार भएका कारण यस मन्दिरलाई स्वर्ग र नर्कको मापन गर्ने स्थानका रूपमा समेत लिइने गरिएको छ।

लङ्केश्वर मेलामा स्थानीय महिला र पुरूषहरूले धार्मिक मान्यताअनुसार रातभर जाग्राम बसेर नाचगानका साथै भजनकीर्तन गर्छन् भने भोलिपल्ट पूर्णिमासम्म पूजारीहरूद्वारा रूद्रीपाठ र पूजाअर्चना गरी सोही दिन मेला समापन गरिन्छ।

मंगलबार एकादशीको दिन ढिकी, जाँतो नचलाइने र चलाएमा भगवान् महादेवको अवमूल्यन हुने भएकाले कन्दमूल तथा फलफूल खाने चलन रहेको छ । 

काभ्रेपलाञ्चोक जिल्लाको बल्थली क्षेत्र धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण मानिँदै आएको छ ।

भारत वर्षमा चार धाममध्ये एक मानिएको गङ्गोत्रीबाट ल्याइएको जल आज विशेष पूजा अर्चनासहित  पिठाधिश शिवप्रकाशले काभ्रेको पनौती नगरपालिका  ११ बल्थलीस्थित लड्केश्वर महादेवलाई अर्पण गरेका छन् । यसले लड्केश्वरको महिमा नेपालमा मात्र नभै भारतमा समेत रहेको प्रष्ट हुन्छ।



नयाँ