arrow

गण्डकीमा सत्तारुढ दलकाे संयन्त्र गठन [विज्ञप्तिसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
shukraraj-kiran-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशमा सत्तारुढ दुई दलको संयन्त्र गठन गरिएको छ । संयन्त्रमा नेपाली कांग्रेस र नेकपा एमालेबाट तीन-तीन जना सदस्य राखिएको छ ।

संयन्त्रको सदस्यमा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, मुख्यमन्त्री तथा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, महामन्त्री विष्णुप्रसाद लामिछाने, एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, पूर्वमुख्यमन्त्री खगराज अधिकारी र प्रदेश अध्यक्ष नवराज शर्मा छन् ।

संयन्त्रको बैठकको अध्यक्षता सहमतिका आधारमा आलोपालो गर्ने र व्यवस्थापन अध्यक्षता गर्ने दलले नै गर्नुपर्ने निर्णय मंगलबार सम्पन्न पहिलो बैठकले गरेको दुवै दलद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै प्रदेशका सबै जिल्लामा संयन्त्र निर्माण गर्ने, संयुक्त सरकारको कामलाई जनतासम्म पुर्‍याउने, सरकारका काममा सुझाव दिने र सहयोग गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशभित्रका स्थानीय तहमा विवाद आएमा दुई दल बसेर तत्काल समाधान गर्ने, सहकार्यलाई अझै प्रभावकारी बनाउन निर्देशन दिने निर्णय गरिएको छ, संयन्त्रले हाल भइरहेका प्रदर्शनको ध्यानाकर्षण भएको जनाएको छ ।’

‘नेपालको संविधान र कानुनी राज्यको अवधारणाको विरुद्ध भइरहेको जुनसुकै अराजनैतिक, अराजक गतिविधिप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ’, संयन्त्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिलाई समयमा नै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै कानूनी राज्यको कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न सबै पक्षसँग हार्दिक अपिल गर्ने निर्णय गरियो ।’

प्रेस विज्ञप्ति

 



नयाँ