arrow

कोप २९ सम्मेलन

प्राकृतिक स्रोत दोहन गरेर धनी भएका मुलुकका कारण नै पर्वतीय मुलुकका नागरिकले भोगेको समस्या : राष्ट्रपति पौडेल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
ramchandra-baku-81-7-28.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । 

अजरबैजानको बाकुमा सोमबारदेखि शुरु भएको कोप २९ सम्मेलनका क्रममा बुधबार  किर्गिस्तानद्वारा आयोजित उच्चस्तरीय सत्रलाई  सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

“जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा त्यस क्षेत्रका गरिव महिला, बच्चाबच्ची र वृद्धवृद्धा अझ बढी जलवायु प्रभावमा परेका छन्, उनीहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्वोधन गर्नुपर्ने हुन्छ”, राष्ट्रपति पौडेलले भने । 

पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरुको आफ्नै कारणले नभई त्यो त द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरुले गरेको कार्बन उत्सर्जनका कारण भएको उहाँको धारणा थियो । “उनीहरुलाई जलवायु न्याय दिनमा कोप २९ सफल हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ”, राष्ट्रपति पौडेलले भने । 

जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्दो रहेको र त्यसले नयाँ रेकर्ड कायम गर्दै गएको बताउँदै त्यसका कारण पर्वतीय क्षेत्र तुलानात्मक रुपमा बढी जोखिममा परेको नको भनाइ थियो । 

गत अगस्तमा नेपालको सगरमाथा क्षेत्रमा हिउँताल फुट्दा थामे गाउँका ३५ भन्दा बढी घरधुरी विस्थापन भई करोडौँको हानि नोक्सानी व्यहोर्नु परेको सन्दर्भ उल्लेख गर्दै उनले गत मनसुन सिजनमा आएको बाढी पहिरोमा नेपालका ५०० बढी नागरिकले जीवन गुमाउनु परेको उनले जानकारी दिए । 

“यसको पीडा अझै सन्चो भएको छैन, आउँदा दिनमा यो समस्या अझ बल्झिने छ र विकराल अवस्था सृजना गर्ने छ भन्ने आंकलन अहिले नै गरेनौ र उपयुक्त सावधानी लिएनौ भने भोलि अझ बढी हानिनोक्सानी व्यहोर्नु पर्ने छ”, राष्ट्रपति पौडेलले भने ।  

उनले नेपाल र किर्गिस्तान दुवै पर्वतीय मुलुक भएकोले हामीहरुले भोगेका जलवायु परिवर्तनका असर र प्रभाव पनि समान छन् भने ।  साथै, नेपाल र किर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा पनि सँगै काम गरेको अनुभव रहेको उनले स्मरण गर्नुभयो ।सो कार्यक्रममा किर्जिकिस्तानका राष्ट्रपति, मंगेलियाका राष्ट्रपति, अजरबैजानका विदेशमामिला मन्त्रीलगायतले  बोलेका थिए ।

अजरबैजानको बाकु सहरमा यही कार्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) अन्तर्गत मङगलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए ।

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन आज यहाँ  राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्दैछ । 

सम्मेलन (कोप–२९) अन्र्तगत नेपालले आज यहाँ आयोजना गर्ने ‘माउण्टेन इन पेरिल, एड्रेसिङ लस एण्ड डयामेज इन द हिमालय’ (‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’)  शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई उनले सम्बोधन गर्नेछन् । 

भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ । सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । 

कोप २९ मा भाग लिन राष्ट्रपति पौडेल यसअघि २५ गते आइतबार काठमाडौँबाट दोहाको लागि प्रस्थान गरेका थिए । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ