arrow

तीन हजार भूकम्प पीडित थपिए

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
earth_chitwan1.jpg.jpeg
रत्ननगर (चितवन)। चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पुर्‍याएका घरको फोटोसहितको विवरण सङ्कलन गरिने भएको छ । 
 
उक्त अभियानको प्रक्रिया सुरु भएको तथ्याङ्क कार्यालय चितवनले जनाएको छ । पछि कुनै विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिने जिल्ला तथ्याङ्क कार्यालय चितवनका प्रमुख तथा भूकम्पपीडितको विवरण सङ्कलन कार्यक्रमका संयोजक जीवनाथ आचार्यले जानकारी दिए  । 
 
फोटोसहितको मतदाता नामावली सङ्कलन भएजस्तै यसपटक भूकम्पले क्षति पुर्‍याएको घरको अवस्था अध्ययन गरी फोटोसमेत सङ्कलन गरिने आचार्यले जानकारी दिए । यसका लागि जिल्लामा ५२ जना इन्जिनियर र ५२ जना सामाजिक परिचालक परिचालन गर्ने उनले बताए । 
 
आचार्यका अनुसार जुन दिन तथ्याङ्क सङ्कलन गरिएको हुन्छ, त्यही दिन नै सिंहदरबारको सूचना केन्द्रलगायत सम्बन्धित क्षेत्रमा पठाइने व्यवस्थासहित विवरण सङ्कलनको तयारी गरिएको जानकारी दिए । चितवन जिल्लामा अहिले १८ हजार ७५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् । 
 
हालै सुरु भएको भूकम्पपीडितको पुनः लगत सङ्कलनका क्रममा यसरी पीडितहरुको निवेदन सङ्कलन भएको हो । सामान्य क्षतिसहित विगतमा चितवनमा १५ हजार ७४९ भूकम्पपीडितको तथ्याङ्क आएकामा अहिले बढेर १८ हजार ७५२ पुगेको हो । 
 
चितवनका स्थानीय विकास अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँ-गाउँमा नगरपालिका र गाविसमार्फत लगत सङ्कलन गरिएको बताए । 
 
पहिलो चरणमा सरकारबाट रु १५ हजार पाएका र दोस्रो चरणमा न्यानो कपडाका लागि रु १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा मात्रै उनीहरुलाई पुनःनिर्माणका लागि सरकारले रु तीन लाखको राहत प्याकेज दिनेछ । 
 
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट कम प्रभावित जिल्लामा समेत पुनःनिर्माणको काम सुरु गरेपछि जिल्लामा पुनः लगत सङ्कलन गरिएको हो । चितवनलगायत १७ जिल्लामा लगत सङ्कलन थालिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ