arrow

बाह्र वर्ष सफाइ गर्दा पनि बागमतीको फोहर ज्यूँका त्यूँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १ शनिबार
bagmaticleaning.jpg.jpeg

काठमाडौँ । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको बागमती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरे पनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन ।

विसं २०७० जेठ ५ गते शुरु भएको बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर बागमती किनारमा सफाइ हुँदै आएको छ । जति सफाइ गरे पनि बागमती सफा नदेखिएपछि ‘हिँड्दैछ, पाइला मेट्दैछ’ भनेर पनि कतिले यो महाअभियानलाई व्यङ्ग्य गर्ने गरेका छन् । 

शुरुआती चरणदेखि महाअभियानमा जुटेका अभियानकर्मी किशोरसिंह शाही ढलको व्यवस्था नगरी सिधै फोहर पानी नदीमा हाल्दा जति सफाइ गरे पनि बागमती सफा देखिन नसकेको बताउँछन् । 

बागतीको मुहानदेखिकै स्थानीय सरकारले माथिल्लो भेगबाटै आउने फोहर अझै व्यवस्थापन गर्न नसक्नु, पशुपति क्षेत्रको आर्यघाटबाट निस्कने फोहरलाई अझै पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन नगर्नु र फोहर पानी प्रशोधन केन्द्रले राम्रोसँग काम नगर्नुजस्ता कारणले अझै वाग्मती सफाइ हुन नसकेको उनको निष्कर्ष छ । महाअभियान नागरिकस्तरबाट शुरु गरी जागरण गर्दा पनि स्थानीय सरकारले फोहर व्यवस्थापनमा चासो नदेखाउँदा प्रभावकारी सफाइ हुन सकेको छैन ।

सफाइ अभियानकर्मी चक्रबहादुर चन्द १२ वर्षअघिको अवस्थाबाट बागमतीमा सफाइको अवस्थामा सुधार गर्न सकिए पनि आशातीत काम भने हुन नसकेको बताउँछन् । ढलमुक्त गराउन भने सरकारले नसकेको उनले स्वीकार गरे । अधिकार सम्पन्न वाग्मती समितिले एक वर्षमा गुह्येश्वरीसम्म ढलमुक्त गर्ने प्रतिबद्धता जनाएको बताए । समितिले गुह्येश्वरीसम्मका छ ठाउँमा ढल मिसिइरहेकामा तीन ठाउँमा बन्द गराइसकेको जनाइएको छ ।

बागमती सफाइ महाअभियानको छ सय एक हप्ताको आजको सफाइ काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा गरिएको थियो । बागमती सफाइ अभियानकर्मीको समूहले गरेको सफाइसँगै आज त्यस क्षेत्रका बागमती किनारमा रोपिएका बोट बिरुवा गोड्मेल पनि गरिएको थियो । बागमती नदीबाट नकुहिने फोहर पनि व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ ।



नयाँ