arrow

विश्वप्रकाशको दुई गोलले राजनीतिक दलले कलाकारको टोलीलाई हरायो  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १ शनिबार
futsal-sabik-mechinagar.jpg
तस्बिर – प्रथम झापा १ काठमाडौँ कप फुटसल प्रतियोगिताको उपाधि साविक मेचीनगरलाई ।

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा राजनीतिक दलले कलाकारको टोलीलाई पराजित गरेको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको दुई गोलको मद्धतले राजनीतिक दलले कलाकारको टोलीलाई ६–१ ले पराजित गरेको हो । 

नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौँको संयुक्त आयोजनामा जावलाखेलस्थित डीएभी स्कूलमा भएको खेलको पहिलो हाफमै शर्माले दुई गोल गरेका थिए । 

यस्तै भास्कर काफ्लेले पनि पहिलो हाफमा दुई गोल गर्दा राजनीतिक दलले ४–० को फराकिलो अग्रता लिएको थियो । 

दोस्रो हाफमा भने तीन गोल भयो । राजनीतिक दलका बालकुमार केसी र रञ्जित तामाङले समान एक–एक गोल थपे । यस्तै कलाकारबाट बालकृष्ण निरौलाले गरेको गोल सान्त्वना रह्यो ।

राजनीतिक दलबाट शर्मा, काफ्ले, केसी र तामाङसँगै एलपी सावाँ, सेरोम कार्की र किशोर मगर मैदानमा उत्रिएका थिए । यस्तै कलाकारबाट प्रमोद प्रसाईँ, भानुभक्त ढकाल, टिका भण्डारी, सरोज वली, प्रशान्त शिवाकोटी, योगेन्द्र उपाध्याय, अशोक शर्मा, समीर खरेल र अमीर शेखले राजनीतिक दललाई चुनौती दिएका थिए ।

अन्य मैत्रीपूर्ण खेलमा महिला ‘ख’ ले महिला ‘क’ लाई १–० ले पराजित गर्यो । महिला ‘ख का लागि युनिशा प्रसाईँले गरेको गोल नै निर्णायक बन्यो । 

अर्को खेलमा पेशा व्यवसायीले कर्मचारीमाथि ६–२ को शानदार जित हात पार्यो । प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए । 

उनले यस किसिमका प्रतियोगिताले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । राजनीतिक दलबाट यस्ता गतिविधि हुनु सराहनीय भएको उल्लेख गरे । 

सोही अवसरमा कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूले यस्तो प्रतियोगिता गर्नु सिर्जनात्मक भएको बताए । 

विजेता र उपविजेता टोलीसँगै व्यक्तिगत पुरस्कार जित्ने खेलाडी र प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई महामन्त्री शर्माले पुरस्कार वितरण गरेका थिए । 

उद्घाटन समारोहमा झापा जिल्लाका कांग्रेस, एमाले, राप्रपा, माओवादीसहित राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।

यता, प्रथम झापा १ काठमाडौँ कप फुटसल प्रतियोगिताको उपाधि साविक मेचीनगरले जितेको छ । नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डीएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो । 

निकै रोमाञ्चक बनेको खेलमा धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे पनि उपाधि दिलाउन सकेनन् । प्रथम कार्कीले मेचीनगरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, देवासिसले धाइजनलाई खेलमा फर्काए । त्यसपछि रोहन कार्कीले लगातार दुई गोल गर्दै अग्रता ३–१ मा पुर्याए । 

तर, देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३–२ को स्थितिमा ल्याए । लगत्तै प्रथमले अर्को गोल गर्दै मेचीनगरलाई ४–२ को अग्रता दिलाए । खेलको अन्त्यतिर देवासिसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे । तर, उक्त ह्याट्रिकले धाइजन खेलमा फर्किन सकेन । यद्यपि, उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए ।

प्रतियोगितामा मेचीनगर र धाइजनसँगै शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी र ज्यामिरगढीले सहभागिता जनाएका थिए । मेचीनगरले पहिलो सेमिफाइनलमा बाहुनडाँगीलाई ५–१ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो । यस्तै, धाइजनले भने दोस्रो सेमिफाइनलमा ज्यामिरेगढीलाई ३–० ले पाखा लगायो । ज्यामिरेगढीले ‘बाइ’ पाउँदै सिधैं अन्तिम चारमा स्थान बनाएको थियो । तर, उक्त मौकालाई ज्यामिरेगढीले सदुपयोग गर्न सकेन र यहीबाट आफ्नो यात्रा समाप्त गर्यो ।

उपाधिसँगै विजेता मेचीनगरले २१ हजार रुपैयाँ प्राप्त ग¥यो । यस्तै, उपविजेता धाइजनले ११ हजार रुपैयाँमा चित्त बुझायो । उपाधिसँगै मेचीनगरले व्यक्तिगत पुरस्कारमा पनि कब्जा जमायो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर मेचीनगरका जयश खनाल घोषित भए । प्लेयर अफ द टुर्नामेन्ट रोहन बूढाथोकी र सर्वाधिक गोलकर्ता अंकित दुलाल रहे । उनीहरू दुवै मेचीनगरका हुन् । मेचीनगरलाई फाइनलमा पु¥याउन अंकितले सर्वाधिक आठ गोल गरेका थिए ।

नेपाली कांग्रेसका महमन्त्री विश्वप्रकाश शर्माले निर्णायक समितिमा रहेका नेपाली टोलीका पूर्वप्रशिक्षक तथा पूर्वकप्तान हरि खड्का र अमनप्रताप अधिकारीलगायतले बनाएको उत्कृष्ट खेलाडीको सूचीबाट एक टोली बनाउने जानकारी   दिए ।

‘निर्णायक समितिबाट एक लिस्ट पाएको छु । त्यो लिस्टबाट झापा १ को एक टिम बनाउने छौं । त्यो टोलीले नेपालभर हुने प्रतियोगितामा झापा १ को प्रतिनिधित्व गर्नेछ,’ उनले भने ।
 



नयाँ