arrow

डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग गरौँः प्रदेश प्रमुख

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
dilli-raj-bhatta-can.jpg

पोखरा । गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले नवीनतम् प्रविधि तथा आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई साकार पार्ने बताएका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) कास्कीको १०औँ अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले नवीनतम् प्रविधि तथा आविष्कारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारले जोड दिएको बताउँदै उनले सरकारले चालु बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता दिँदै पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको बताए ।

विसं २०६५ देखि निरन्तर क्रियाशील क्यान कास्कीले सूचना प्रविधि क्षेत्रमा कार्य गर्दै आइरहेकामा खुसी व्यक्त गर्दै प्रदेशप्रमुख भट्टले भने, “सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवाअन्तर्गत राख्न तपाईंहरूले पहिल्यैदेखि माग गर्नुभएको हो, नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गर्ने गरी विभिन्न कार्यक्रम घोषणा गरिएको छ ।”

सरकारले १० वर्षमा ३० खर्ब बराबरको आइटी सेवा निर्यात गर्ने, पाँच लाखलाई प्रत्यक्ष रोजगारी तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको प्रदेश प्रमुख भट्टले बताए । डिजिटल माध्यमबाट सरकारी सेवा पाउने सर्वसाधारणको हक सुनिश्चित गर्ने सरकारी नीति रहेको उनको भनाइ छ ।

सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना सञ्जालमा जोड्ने सरकारी नीति मुलुकको तीव्र आर्थिक विकासमा सहयोगीसिद्ध हुने उनले विश्वास व्यक्त गरे ।

सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेर कार्यान्वयनमा ल्याइएको रहेको र सूचना प्रविधिसम्बन्धी नयाँ नीति, कानुन तथा निर्देशिकामा क्यान महासङ्घले समन्वयकारी भूमिका खेलिरहेकामा पनि सरकारका तर्फबाट उनले धन्यवाद व्यक्त गरे ।



नयाँ