arrow

सांसद गौचनको कालीगण्डकीमा अन्त्येष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
bimala-gauchan-myagdi.jpg

पोखरा । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको शनिबार श्रद्धाञ्जली, शवयात्रासहित बेनीस्थित कालिगण्डकी घाटमा अन्त्येष्टि गरिएको छ ।

कालिगण्डकी र म्याग्दी नदीको संगलस्थलमा गौचनलाई श्रद्धाञ्जली दिन जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारण सहभागी थिए ।

यसअघि गौचनको पार्थिव शरीरमा नेपाली कांग्रेस म्याग्दीका सभापति एवं प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजाले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

गौचनप्रति श्रद्धाञ्जलीका लागि मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, गण्डकी प्रदशसभा सदस्य हरिबहादुर भण्डारी र भक्त कुँबर, म्याग्दीका राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुक सहभागी थिए ।

घाटमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न संविधानसभा सदस्य नरदेवी पुन, रेशमबहादुर बानियाँ, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेश सभाका सदस्य रेशम जुग्जाली, हरिबहादुर भण्डारी, भक्त कुँबर, जिसस प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुख एवं सुरक्षाकर्मीलगायत सहभागी थिए ।

यसअघि पोखरामा पनि गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर हिजो श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

साथै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पनि पार्टीको झण्डा ओढाएर गौचनप्रति श्रद्धाञ्जली अर्पण गरे ।

शनिबार बिहान ७ः३० बजेदेखि ९ बजेसम्म श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरीर प्रदेशसभाको प्राङ्गणमा राखिएको थियो । थकाली सेवा समितिले आफ्नो परम्पराअनुसार श्रद्धाञ्जली व्यक्त गरेको थियो ।

गौचनप्रति श्रद्धाञ्जलीका लागि गण्डकी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुक सहभागी थिए ।

मुस्ताङको कोबाङमा वि.सं २०१८ असार १८ गते जन्मिएकी गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ । गौचनको गत कात्तिक २८ गते राति काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।

उनी नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित थिइन् । उनी प्रदेशसभा अर्थ तथा विकास समितिको सदस्य थिइन् ।

गौचन राजनीतिसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय थिइन् । गौचनको म्याग्दीमा लगेर दाहसंस्कार गरिने परिवारजनले जनाएको छ । गौचनका एक छोरा र एक छोरी छन् ।



नयाँ