arrow

शोकमा कांग्रेस: मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने, दुई दिन झण्डा आधा झुकाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३ सोमबार
damannath-dhungana-condolence-deuba.jpg

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले ढुङ्गानाको निधनमा मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने र १३ औँ दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले पूर्व सभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा मंसिर २ गते भएको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको उल्लेख गरेको छ  ।

नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं। २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख थिए । 

त्यसैगरी उनी विसं २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए । नेपाली कांग्रेसको विभिन्न पदमा रहेर उनले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रिया ल्याउन सहजकर्ताको रुपमा समेत उनको सक्रिय भूमिका रहेको थियो । 

सानो गौचरणमा भएको अन्तिम श्रद्धाञ्जलीमा कांग्रेसका काठमाडौँमा उपलब्ध सबै नेताहरु पुगेका छन् । 



नयाँ