arrow

ढुङ्गानाको निधनको शोकमा कांग्रेसले गर्‍यो यी निर्णयहरू [भिडियो]

देउवाको गुनासो- मलाई त बिरामी भएको पनि थाहा भएन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३ सोमबार
gagan-thapa-08-03-01.jpg

काठमाडौँ । नेपाली कांग्रेसले पूर्व सभामुख एवं पार्टीका नेता दमननाथ ढुङ्गानाको निधनको शोकमा मङ्सिर ३ र ४ गते पार्टी केन्द्रीय कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुङ्गानाप्रति शोक प्रस्ताव पारित गर्दै दुई दिन पार्टीको आधा झण्डा झुकाउने र मङ्सिर ४ गते मङ्गलबार पार्टीको केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको हो । 

बैठकले उनको निधन भएको १३ औँ पुण्य तिथिको दिन पार्टी केन्द्रीय कार्यालयमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए । कांग्रेसद्वारा जारी शोक प्रस्तावमा  स्वर्गीय ढुङ्गानाले मानव अधिकार, न्याय क्षेत्र, विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका पुर्‍याएको योगदान सदैव स्मरणीय रहिरहने निष्कर्ष निकाल्दै लागि उनले पुर्‍याउनु भएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ । 

महामन्त्री थापाले भने,‘पूर्व सभामुख दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा राजधानीका फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा मङ्सिर २ गते भएको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको छ । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएका ढुङ्गाना २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र २ बाट विजयी भई २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख हुनुहुन्थ्यो । त्यसै गरी उन २०५१ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । नेपाली कांग्रेसको विभिन्न पदमा रहेर उनले पार्टीको सङ्गठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा समेत उनको सक्रिय भूमिका रहेको थियो । मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका लागि उनले पुर्‍याउनु भएको योगदान सदैव स्मरणीय रहनेछ । उनको निधनबाट सिंगो देशले वरिष्ठ कानुनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान् एवं अनुभवी राजनीतिज्ञ गुमाएको छ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनप्रति केन्द्रीय कार्य समितिको बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै दिवङ्गत आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । स्वर्गीय ढुङ्गाना प्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ । २०८१ साल मङ्सिर ३ र ४ गते २ दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने । २०८१ मङ्सिर ४ गते मंगलबार दिन केन्द्रीय कार्यालय बन्द रहने, स्वर्गारोहणको १३ औँ दिनमा केन्द्रीय कार्यालयमा शोक सभाको आयोजना गर्ने निर्णय गरिएको छ ।’ 

बैठकमा बोल्दै पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय ढुङ्गानाले पार्टी र सभामुखको रूपमा खेलेको निष्पक्ष भूमिका सदा स्मरणीय रहिरहने बताए । उनले भजे,‘संसद उहाँले निष्पक्ष रूपमा सभामुखको भूमिका निर्वाह गर्नुभयो । उहाँको अचानक निधन भएको खबर सुन्नुपर्‍यो । मलाई त बिरामी भएको पनि थाहा भएन । अब जे हुनु भई हाल्यो । उहाँको असामयिक निधन भयो ।’ 

पूर्व सभामुख ढुङ्गाना २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भई सभामुखको भूमिका निर्वाह गरेका थिए । उनले सभामुखको रूपमा संसद  प्रतिपक्षको हो भन्ने मान्यतालाई स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसै गरी स्वर्गीय ढुङ्गानाले माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा समेत उनको सक्रिय भूमिका खेलेको पनि कांग्रेसले जनाएको छ । 



नयाँ