- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । निर्वाचन आयोगले चुनावका बेला प्रयोग गर्नुपर्ने भन्दै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।
सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छिन् ।
त्यस्तै आयोगले मतदान केन्द्र राखिएका ठाउँको संरक्षण र मर्मत सम्भार गर्न, त्यहाँ खानेपानी, शौचालय, विद्युत, सञ्चार आवजावतको वैकल्पिक मार्ग, सडक र पुल पुलेसा, तथा कम्पाउण्डको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न पनि निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई निर्देशन दिएको जनाएको छ ।
यहि मङ्सिर १६ गते विभिन्न स्थानीय तहका ४४ मध्ये ४३ पदमा उपनिर्वाचन हुँदैछ भने एक जिसस प्रमुख (ओखलढुङ्गाका लागि नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई) निर्विरोध निर्वाचित भएका छन् ।