- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुकुम पूर्व । नेपाली कांग्रेस र नेकपा एमाले दुई ध्रुवका पार्टी हुन् । उनीहरुबीच एकता हुनै सक्दैन । परिस्थितिले अहिले सत्ता सञ्चालनका लागि गठबन्धन गराइदिएको भए पनि चुनावी एकता भने कल्पना बाहिरको विषय हो ।
दुवै पार्टीले चुनावमा गठबन्धन नगर्ने पनि भनेकै हुन् । तर स्थानीय तहको निर्वाचनमा एक्लाएक्लै चुनाव लड्ने भने पनि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा गठबन्धन गरेका छन् ।
कांग्रेसको रुख चुनाव चिह्न लिएर एमालेकी केशकुमारी तुलाचन उपाध्यक्षमा उम्मेदवार बनेकी छिन् । उनी एमाले रुकुम पूर्व कमिटीकी उपसचिव हुन् ।
कांग्रेसले एमालेलाई सघाउनका लागि सर्त नै यस्तो राखिदियो कि चुनाव चिन्ह रूख नै हुनुपर्ने । यसअघि माओवादी केन्द्रसँग गठबन्धन गरेको कांग्रेसलाई धोका भएपछि कांग्रेसले कहिल्यै कसैसँग गठबन्धन नगर्ने निर्णय गरेको थियो ।
केन्द्रीय समिति बैठकबाटै कहिल्यै कसैसँग चुनावी गठबन्धन नगर्ने निर्णय भएको थियो । त्यो निर्णय यसैपालि तोडिएको छ ।
एमालेले पनि कसैसँग गठबन्धन नगर्ने निर्णय गरेको थियो । तर अहिले दुवै दलका स्थानीय नेताहरु भने आवश्यकताका आधारमा गठबन्धन भएको बताउँछन् । केन्द्रबाट कसैसँग गठबन्धन नगर्न भनिएको भन्दै उनीहरुले स्थानीय तहमा आवश्यकताका आधारमा मिल्न पुगिएको उनीहरुको तर्क छ ।
२०७९ को चुनावमा एमालेका उम्मेदवारले भन्दा कांग्रेसका उम्मेदवारले धेरै मत ल्याएका आधारमा गठबन्धन गर्दा कांग्रेसको चुनाव चिन्ह दिइएको बताइएको छ ।
माओवादी केन्द्रको वर्चश्व भएको यो पालिकामा कांग्रेस एमाले मिलेपछि भने नतिजा उल्टने अपेक्षा गरिएको छ ।
गत भदौमा उपाध्यक्ष भुपेन्द्र बुढाको दुर्घटनामा परेर निधन भएपछि रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
आइतबार तुलाचनसहित सात जनाले उम्मेदवारी दिएका छन् । जसमा माओवादी केन्द्रबाट नरपुरा बुढा, नेकपा एकीकृत मार्क्सवादी लेनिनवादीबाट सुनिता बुढा मगर तथा स्वतन्त्रतर्फ कोपिला पुन बुढा, भीमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (विक) रहेका छन् ।