arrow

गोरु जुधाउन समिति गठन

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
bull-fighting.jpeg
त्रिशूली (नुवाकोट) । तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ । 
 
जिल्लाको पहिचानका रुपमा रहेको तारुकाको गोरु जुधाइ मेला व्यवस्थित रुपमा सम्पन्न गराउनका लागि स्थानीय राजनीतिक दल र गोरुपालक किसानको सहमतिमा दीपेश शाक्यको अध्यक्षतामा नौ सदस्यीय गोरु जुधाइ मेला व्यवस्थापन समिति गठन भएको हो । 
 
तारुकामा भएको भेलाले गठन गरेको समितिका सचिवमा साधुराम सिग्देल र कोषाध्यक्षमा बद्री ढुङ्गाना तथा सदस्यमा राज्यलक्ष्मी श्रेष्ठ, माधव बखरेल, श्याम अछामी, सङ्गीता शाही, कृष्ण तामाङ र शर्मिला सिग्देल रहेका छन् । 
 
भेलाले जनकराज ढुङ्गानाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । समितिले अब चाँडै गोरु दर्ताका लागि सूचना जारी गर्ने छ । 
 
तारुका गाविसको चन्दनीको ठूलो पाटामा हरेक वर्ष गोरु जुधाइँदै आएको छ । तारुका, बुधसिङ, रातमाटेलगायत क्षेत्रमा सयौँ वर्षअघिदेखि गोरु जुधाइँदै आएकामा २०६२ सालदेखि भने तारुकाले एकै स्थानमा माघे सङ्क्रान्ति पर्वका रुपमा व्यवस्थित रुपमा गोरु जुधाउँदै आएको छ । 
 
यस्तै नुवाकोटकै बेत्रावतीमा यस वर्ष गोरु जुधाउने तयारी सुरु भएको छ । स्थानीय गोसाइँकुण्ड युवा क्लब मेलाको खर्च जुटाउन र प्रचारप्रसारमा जुटिसकेको क्लबका अध्यक्ष सुरज लबटले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ