- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रबन्ध गर्न लागिएको बताएका छन् । उनका अनुसार ४९ टन भन्दा बढी भार बोकेर सडकमा गुडाउन नपाउने कार्यविधि बनाएको बताए । उनले ४९ टन भन्दा बढी बोकेर हिँड्दा के कारबाही हुने भन्ने स्पष्टता नरहेकाले सरकारले अहिले त्यसलाई पूर्ण रूपमा रोक लगाउने गरी आवश्यक प्रबन्ध गर्न लागेको बताए ।
उनले छिमेकी मुलुकहरूको बाटोबाट आएका सामानहरूलाई सीमानाकामै निरीक्षण गरी सडकको भार क्षमता भन्दा बढी बोक्न नदिने बताए । उनले सरकारले अब कडाइका साथ नियमावलीलाई लागू गर्ने र आवश्यक परे कानूनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच बनाएको उल्लेख गरे ।
उनले भने, ‘बाटोको क्षमताअनुसार हाम्रो देशमा र संसारमै पनि कुरा के हो भने कति चक्के गाडी हो । थोरै चक्के गाडी छ भने त्यसको भारवहन क्षमता कम हुन्छ । जति चक्का बढायो त्यति त्यसको भारवहन क्षमता बढ्छ । तर हाम्रो देशको बाटोलाई मध्यनजर गरेर हामीले ४९ टन भन्दा बढी भार बोकेर यो बाटोमा हिँड्न नपाउने भन्ने एउटा कार्यविधि बनाएका छौँ । तर त्यो भन्दा बढी हुँदा के गर्ने भन्ने सन्दर्भमा हाम्रो बीचमा त्यति धेरै स्पष्टता छैन । जरिबाना गर्ने, जरिबाना गरिसकेपछि बाटोमा हिँड्न पाउने त पक्कै पनि हुनु हुँदैन । त्यसले गर्दा हामीले त्यसलाई पूर्ण रूपले रोक लगाउँदै छौँ । विदेशबाट आएका सामानहरू छन् भने, छिमेकी मुलुकहरूको बाटोबाट आएका सामानहरू छन् भने त्यो चेक प्वाइन्टमा नै निर्धारण गरिनुपर्छ । हाम्रो बाटोमा कति क्षमता भार बोकेका चार चक्के, १० चक्के वा २८ चक्के गाडीहरू पनि छन् । ती गाडीहरूले कति क्षमतासम्मको भार बोकेर हिँड्न पाउँछन् भन्ने कुराको निर्धारण चेक प्वाइन्टमै निगरानी गर्नुपर्छ । यस कुरामा नेपाल सरकारले अब कडाइका साथ नियमावलीलाई कार्यविधिलाई आवश्यक पर्छ भने कानूनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच राखेका छौँ ।’