arrow

रक्षा मन्त्रालयको प्रगति समीक्षा

विकास निर्माणको काममा सेनाको भूमिका प्रशंसनीय - मन्त्री राई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
manbir-rai-08-04.jpg

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले विकास निर्माणका कामहरू प्रभावकारी रूपमा सम्पन्न गरिरहेको बताएका छन् । मंगलबार रक्षा मन्त्रालयको चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले नेपाली सेनाले फास्ट ट्र्याक, कोरिडोर निर्माण, विश्वविद्यालय निर्माण, चुरे संरक्षणका साथै विपद्मा राहत र उद्धारका कार्य समेत गरिरहेको बताए । 

हाल नेपाली सेनाले तातोपानी क्षेत्रमा बेलीब्रिजहरु बनाइरहेको मन्त्री राईको भनाइ छ । उनले सिमिकोटमा तत्काल बाटो जोड्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट जिम्मेवारी दिइएको उल्लेख गर्दै सेनाको नेतृत्वमा रक्षा मन्त्रालयले उक्त काम गरिरहेको बताए । उनले काठमाडौं–तराई मधेस जोड्ने द्रुतमार्गमा खोकना क्षेत्रमा देखिएका समस्याहरूको समाधान पूर्णरुपले नभइसकेको उल्लेख गर्दै छिटै भौगोलिक निरीक्षण गरेर निष्कर्षमा पुग्ने बताए । 

उनले भने, ‘रक्षा मन्त्रालयको पहिलो काम नेपाल राष्ट्रलाई सुरक्षित राख्ने हो । तर नेपाल सरकारको विश्वासले रक्षा मन्त्रालय, नेपाली सेना पछिल्लो समय विकाससँग पनि जोडिएको छ । यसमा फास्ट ट्र्याकदेखि लिएर विभिन्न कोरिडोरहरु, विश्वविद्यालय बनाउने कुरा, चुरे संरक्षणको विषयदेखि लिएर, आपत् विपद्मा राहत र उद्धारका कार्य समेत गरिरहेको छ । अहिले त बेलिब्रिजहरु जोड्ने, बाटो र सडकहरू खोल्ने कामहरू नेपाली सेनालाई दिने काम भएको छ । अहिले पनि नेपाली सेनाले तातोपानी क्षेत्रमा बेलीब्रिजहरु बनाइरहेको छ । सिमिकोटमा तत्काल बाटो जोड्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट जिम्मेवारी दिइएको छ । त्यो कामहरू पनि हामी गरिरहेका छौं । नेपाली सेनाले विश्वमा शान्ति कायम गर्नका लागि विभिन्न मुलुकमा काम गरिरहनुभएको छ ।’

विश्व शान्ति अभियानमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री राईले उक्त कामका लागि नेपाली सेनालाई धन्यावाद समेत दिए । उनले विकास निर्माणका महत्त्वपूर्ण कामहरू छिटोभन्दा छिटो सक्नुपर्नेमा सबै एकमत हुनुपर्ने बताए । 

उनले भने,‘विकास निर्माणका कामहरू सक्नुपर्नेमा हामी सबैको एकमत छ । अहिले त्रैमासिक प्रगतिसम्म आइपुग्दाखेरि हामी बाढी, पहिरो, डुबान लगायतका समस्याको बाबजुद पनि सकारात्मक कामहरू भएका छन् । अब विशेष चाडबाडहरू सकिएका कारणले अबको आउने तीन महिनामा रामो काम गर्न सक्ने मैले विश्वास लिएको छु । अबको सय दिनमा धेरैभन्दा धेरै काम गर्न सक्छौँ भन्ने मलाई पूर्ण विश्वास छ । यसका लागि हामी सबैको महत्त्वपूर्ण सहभागिता आवश्यक रहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ