arrow

‘संसद्का विषयगत समितिका निर्देशन सरकारले मान्नुपर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ५ बुधबार
gandaki-samsad.jpg

पोखरा । गण्डकी प्रदेशसभाअन्तर्गत रहेका विषयगत समितिले दिएका निर्देशन प्रदेश सरकारले पालना गर्नुपर्नेमा जोड दिइएको छ । 

संसदीय पत्रकार मञ्च, गण्डकीले गण्डकी प्रदेशसभा सचिवालय र संसद् सहयोग परियोजनासँगको सहकार्यमा पोखरामा आयोजना गरेको ‘सार्वजनिक लेखा समितिको क्षेत्र, गतिविधि र प्रभावकारिता विषयक’ अन्तरक्रिया कार्यक्रमका वक्ताले सो कुरामा जोड दिएका हुन् । 

समिति सभापति सुधिरकुमार पौडेलले विषयगत समितिको निर्देशन मान्नु सरकारको दायित्व रहेको बताए ।

“सार्वजनिक लेखा समितिले सम्बन्धित मन्त्रालयका मन्त्री, सचिवलगायतलाई राखेर ध्यानाकर्षण गराउने, निर्देशन दिनेलगायत काम गर्दै आएको छ”, उनले भने, “टुक्रे योजना बनाउने, रकमान्तर गर्नेदेखि असारे विकासको प्रवृत्ति बन्द गर्नुस् भनेर निर्देशन दिएका छौँ, प्रदेश सरकारले निर्देशन पालना गर्नुपर्छ ।”

प्रदेश सरकारलाई सुशासन र जवाफदेहिता कायम गर्न लेखा समितिले निरन्तर निगरानी र खबरदारी गर्ने सभापति पौडेलको भनाइ थियो । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक देवीलाल शर्माले जवाफदेही आर्थिक प्रशासन प्रणालीलाई सुदृढ बनाउन सार्वजनिक लेखा समितिको भूमिका महत्वपूर्ण हुने धारणा राखे । उनले सरकारी निकाय र कार्यालयको बेरुजु असुल गर्ने प्रक्रियालाई पनि व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा जोड दिए । 

सयपत्री समाजका अध्यक्ष कृष्ण केसीले विकास आयोजनामा भइरहेको गुणस्तरहीन कामका विषयमा समितिले चासो लिनुपर्ने बताए । वित्तीय अनुशासनहिनता र चुहावट बढ्दै जानु सुशासनका लागि चुनौतीको विषय भएको उनको भनाइ छ ।

इन्सेक गण्डकी प्रदेशका प्रमुख शिव खकुरेलले सरकारी संयन्त्रले सही ढङ्गले कार्यसम्पादन गर्न नसक्दा लोकतन्त्रमाथि नागरिकको अविश्वास बढेको धारणा राखे । महालेखा परीक्षकले औँल्याएको बेरुजु पर्छ्योट हुनुको सट्टा बर्सेनि बेरुजु थपिँदै जानु दुःखद् रहेको उनको भनाइ छ । 

समितिका सदस्य कल्पना तिवारीले छलफबाट प्राप्त सुझावलाई समितिले ग्रहण गर्ने बताए । लेखा समितिको कामलाई थप प्रभावकारी बनाउन सरोकार भएका पक्षसँग सहकार्य र समन्वय गरिने उनको भनाइ छ । 

समितिका सचिव प्रेम सुवेदीले समितिको क्षेत्राधिकार र गतिविधिबारे जानकारी गराउँदै समितिको प्रतिवेदन छिट्टै सार्वजनिक हुने बताए । विसं २०८० साउनमा गठन भएको सार्वजनिक लेखा समितिका हालसम्म १६ वटा बैठक बसेको उनले जानकारी दिए ।

संसदीय पत्रकार मञ्चका सदस्य अमृत सुवेदीले सार्वजनिक लेखा समितिसहित विषयगत समितिको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए । छलफलको सहजीकरण संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाले गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ