arrow

स्थानीय तह उपनिर्वाचनः सर्केगाडमा एकको उम्मेदवारी फिर्ता

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८१ मंसिर ५ बुधबार
sarkegad-election-commissio.jpg

हुम्ला । मंसिर १६ गते हुन लागेको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएकी एक जनाले फिर्ता लिएकी छिन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवार रामसरा खड्का साउदले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिएका छन् । 

गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि पाँच दल र दुई स्वतन्त्रसहित ७ जनाले मनोनयन दर्ता गराएका भए पनि आज अन्तिम समयमा स्वतन्त्र उम्मेदवार रामसरा खड्का साउदले  फिर्ता लिएको उनले बताए । 

२०७९ को स्थानीय तहको निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निर्वाचित उपाध्यक्ष चन्द्रसिं कार्कीको २०८१ भदौ ४ गते सवारी दुर्घटनामा निधन भएपछि उक्त गाउँपालिकामा उप निर्वाचन हुन लागेको हो ।

रिक्त रहेको गाउँपालिकाको उपाध्यक्षका लागि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ । 

२०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्कीले ३ हजार २ सय ६९  मत ल्याउँदै उनका प्रतिद्धन्द्धी नेकपा एमालेकी जुनाकुमारी फडेरालाई पराजित गरेका थिए ।  

गाउँपालिकामा हुने उप निर्वाचनमा हाल १२ मतदान स्थल र ६ हजार ८ सय १० मतदाता रहेका छन् । जसमा ३ हजार ६ सय १९ पुरुष र ३ हजार १ सय ९१ महिला मतदाता संख्या रहेका छन् ।

मनोनयन दर्ता गराएका सबै दलका उम्मेदवारलाई आज नै  दलको चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ