- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । यही मंसिर १६ गते हुन लागेको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा (माओवादी केन्द्र) की उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सुनादेवी थापा भोटे (धामी)ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।
गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराए पनि आज अन्तिम समयमा माओवादी केन्द्र र राप्रपाकी उम्मेदवारले फिर्ता लिएका हुन् ।
विसं २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
रिक्त पदका लागि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यहाँ २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार जोशीले एक हजार आठ सय १० मत ल्याएका थिए ।
उपनिर्वाचनमा हाल नौ मतदानस्थल र सात हजार चार सय ६० मतदाता रहेका छन् । मनोनयन दर्ता गराएका तीन दलका उम्मेदवारलाई आज नै चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।