- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणलाई लिएर सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले बीआरआईअन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरकफरक मान्यता देखिएका भएता पनि दुवै दलबीच हुने समझ्दारीका आधारमा अघि बढ्ने बताए ।
बीआरआईमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय रहेको भन्दै गृहमन्त्री लेखकले सहमतिमा नै यो विषय अगाडि बढ्ने दावी गरे ।
उनले भने, ‘कांग्रेसले त ऋणका रुपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ, एमालेले पनि ऋणका रुपमा भए पनि लिनुपर्छ नै नभनेका कारण दुवै दलबीच छलफल चलिरहेको छ त्यही अनुसार सरकार अघि बढ्छ ।’
मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको जिकिर गरे ।
मन्त्री फेर्ने अधिकार प्रधानमन्त्रीमा निहीत भए पनि आजको समयसम्म त्यसबारे कुनै कुरा नउठेको उनले बताए ।
सरकार र मन्त्रालयले गरेका कामको परिणाम विस्तार देखिन थालेकाले अहिले नै कुनै पनि मन्त्री फेरिने सम्भावना नरहेको उनको भनाइ छ ।
मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए ।
०८४ को निर्वाचनसम्म कांग्रेस-एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको मन्त्री लेखकले बताए ।
दिनैपिच्छे सरकार फेरिने हल्ला बजारमा यताकता सुनिए पनि त्यो हल्लामात्रै भएको मन्त्री लेखकले बताए ।
सहकारी ठगीमा पक्राउ परेका सबै सुक्ष्म तरिकाले अनुसन्धान अघि बढेको भन्दै गृहमन्त्री लेखकले निर्मला पन्त हत्याको अनुसन्धान गम्भीर तरिकाले गृह मन्त्रालयले अनुसन्धान अघि बढाएको बताए ।
उनले गेटा मेडिकल विश्वविद्यालय संचालनका लागि विधेयक संघीय संसदमा पेस भएकोले छिट्टै छलफल गरेर संचालनमा ल्याउने स्पष्ट पारे ।