arrow

स्‍वास्थ्य गतिविधिमा लगानी बढाउँदै 'नेपाल रेडक्रस'

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
NEpal-Redcross.jpeg
काठमाडौ । नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत उपकरण सहितको फिल्ड अस्पताल सञ्चालनमा ल्याउने भएकोछ । त्यस्तै, आपत्कालीन अवस्थाको लागि एम्बुलेन्स, प्राथमिक उपचार, रक्तसञ्चार, मनोसामाजिक सहयोग लगायत सामान्य अवस्थामा बालबालिका युवा, महिला तथा जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्धनका गतिविधिहरु नेपाल रेडक्रसले समन्वयात्मक तरीकाले विस्तार गर्ने रेडक्रसले जनाएको छ । 
 
शनिबार चितवनमा सुरु भएको सोसाइटीको स्वास्थ्य सम्बन्धी गतिविधिहरुको ३ दिने बार्षिक समीक्षा बैठकमा यस्तो जानकारी दिइएको हो । 
 
समीक्षाको क्रममा नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरुले रेडक्रसले सञ्चालन गरेका एम्बुलेन्स, रक्तसञ्चार, खानेपानी, सरसफाई, अन्धोपन निबारण जस्ता विविध क्षेत्रका गतिविधिको प्रसंशा गरेका छन् । साथै, स्वास्थ्य क्षेत्रमा कार्यगर्ने नेपाल सरकारका बिभिन्न निकाय तथा मन्त्रालयहरुबीच समन्वय वढाउन बैठकले आव्हान गरेकोछ ।  
 
आगामी ६ महिना भित्र काभ्रे, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकामा उपस्वास्थ्य चौकीहरु पुननिर्माण गरिने कार्यक्रममा जानकारी दिइयो । त्यस्तै प्राथमिक उपचारको लागि मोबाइल एप्लिकेशन बनाइने, वढ्दो सडक दुर्घटनालाई ध्यानमा दिई पैदलयात्रु, चालक, यात्रु र बालबालिकालाई लक्षित शैक्षिक गतिविधिहरु सञ्चालन गरिने तथा छन् । 
 
कार्यक्रममा समाजकल्याण परिषद, नेपाल सरकारका स्वास्थ्य मन्त्रालय र त्यस अन्तरगत शुक्रराज ट्रपिकल अस्पताल, जनस्वास्थ्य प्रयोगशालालगायत विभिन्न निकायहरु, महिला तथा बालबालिका मन्त्रालय, संयुक्त राष्ट्रसंघका निकायहरु, गैरसरकारी संस्था, प्राथमिक उपचारका विषय विज्ञहरु, नेपाल प्रहरी, नेपाल रेडक्रस, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ एवम् अष्टेलियन, नर्वेजियन क्यानेडियन, अमेरिकन र स्वीस रेडक्रसका प्रतिनिधिहरु गरी १०० वढी प्रतिनिधिहरु सहभागी हुनुहुन्छ । 
 
कार्यक्रमको समुद्घाटन गर्दै नेरेसो अध्यक्ष सञ्जीव थापाले नेरेसोलाई समुदायमा पहिचान र स्वीकार्यता प्राप्त भैआएको स्मरण गर्दै  भन्नुभयो : “नेपाल सरकारको स्वास्थ्य नीति, अन्तर्राष्ट्रिय फोरमहरुले औँल्याएका प्राथमिकता र नेपाल रेडक्रसको सातौँ विकास योजना मुताविक नेरेसोका स्वास्थ्य गतिविधिहरु अघि बढिरहेका छन् ।”
 
विशेष अतिथिको आसनबाट बोल्दै सभाषद डा. विजय कुमार सिंले  रेडक्रसले स्वास्थ्यका प्रवर्धनात्मक, रोकथाममूलक र र उपचारात्मक सवै क्षेत्रमा काम गर्न सक्छ भन्ने उदारहण दिइसकेको बताए । 
 
कार्यक्रमको क्रममा समाजकल्याण परिषदका उपाध्यक्ष नीलमणी बराल, महिला तथा बालबालिका मन्त्रालयका महानिर्देशक नरेश कुमार चापागाँई, स्वास्थ्य सेवा विभाग इपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. गुणनीधि शर्मा, नेरेसो महामन्त्री देवरत्न धाख्वा रेडक्रसका रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि माइक हिगिन्सन अष्ट्रेलियन रेडक्रसका प्रतिनिधि मुकेश सिं र कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख टंक चापागाईले नेपालको स्वास्थ्य क्षेत्रमा एकीकृत र समन्वयात्मक गतिविधिसम्बन्धी शुभकामना व्यक्त गरेका थिए । 
 
रेडक्रसका स्वास्थ्य गतिविधि तथा आपत्कालीन अवस्थामा  स्वास्थ्य सेवाका विषयमा पनि वैठकले विचार गरी स्वास्थ्य रणनीतिमा समावेश गर्न बैठक सहयोगी हुने नेरेसो स्वास्थ्य सेवाका निर्देशक मोना अर्यालले बताईन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ