arrow

सत्ताधारीलाई ओलीले भने–किनबेचले संशोधन हुँदैन, सांसदलाई बेच्न राखेको खसी नठान्नुस्

काँग्रेस इमानमा बस्न सकेन, अहिले माओवादीलाई नाम्लोले बोकेर हिँडिरहेकाे छ

logo
सुवास आचार्य/नारायण रिजाल,
प्रकाशित २०७३ पुष ९ शनिबार
Oli-baglung-new.jpeg

बागलुङ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको कार्यसूचीमा राखिएको संविधान संशोधन विधेयकबारे छलफल नै हुन नदिने बताएका छन् ।

एमाले बागलुङको आठौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले संसोधन विधेयक राष्ट्रहित विपरीत भएको भन्दै फिर्ता नभएसम्म सडक र सदनको दुबै विरोध सशक्त पार्ने र छलफल हुन नदिने बताएका हुन् ।

सरकारले संशोधनलाई छलफल गरी मतदानको प्रक्रियामा जान गरेको आग्रहलाई अस्वीकार गर्दै आएका अध्यक्ष ओलीले स्थानीय जनताको माग र संविधानको मर्म विपरीत ल्याइएको संशोधन विधेयकमा छलफल गर्नु आवश्यक नै नरहेको तर्क गरे ।

संविधानतले निर्देशित गरेका निर्वाचन नभए मुलुकको अस्तित्व नै संकटमा पर्ने भन्दै ओलीले सरकार संसदीय प्रक्रियामा गई किनबेचले प्रस्ताव पारित गर्छौं भन्ने भ्रममा टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले काँग्रेस–माओवादीतर्फ संकेत गर्र्दै सांसदलाई बेच्न राखेको खसी नठान्न चेतावनी दिए । वर्तमान सरकार जनचाहना विपरीत निर्माण भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले भने, ‘मैले चट्टानी अडान राखेकै कारण सरकार छाड्नु पर्ने अवस्था आयो ।

यो सरकार जनचाहना विपरीत निर्माण भएको राष्ट्रहितमा काम गर्छ भनेर आशा गर्ने ठाउँ छैन ।’ संविधानको धारा २७४ ले प्रदेश संरचनाको सीमाङ्गकन हेरफेर गर्ने अधिकार प्रदेश सभालाई मात्र दिएको  उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रिय एकतालाई खलबल्याउने र निर्वाचन हुन नदिने षड्यन्त्रपूर्वक संशोधन विधेयक दर्ता भएको आरोप लगाए ।

‘प्रचण्ड विदेशीको इशारमा चल्दै’
अध्यक्ष ओलीले बर्तमान प्रचन्ड नेतृत्वको सरकार विदेशीले बनाएको आरोप समेत लगाए । ओलीले देश विदेशीको ईसारामा चलिरहेकाले सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव पारित हुन दिन्न भने ।

ओलीले भने, ‘नेपालीले बनाएको सरकार भए पो नेपालीको चिन्ता हुन्छ । अरुले बनाइदिएको सरकार अरुकै चिन्ता गर्दैछ ।’

संविधान जारी गर्दा सँगै रहेको काँग्रेस इमानमा अड्न नसकेको ओलीको टिप्पणी छ । हामीलाई भोटिङमा आइज भनेर उक्साईरहेका छन्, यो राष्ट्रियतासंगको सवाल हो, यसमा कुनै भोटिङ हुँदैन –ओलीले भने । ओलीले अहिले एमालेबारे गलत हल्ला फिजाइएको शंका गरे । संविधान संशोधन हुन नदिने एमाले मधेसी विरोधी हो, भनेर चर्चा चलााइएको छ, । यो ढुक्क हुनुहोस् भ्रम मात्र हो–ओलीले भनेका छन् ।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल धेरै बोल्न थालेको कटाक्ष पनि गरे । ओलीले भने, ‘उहाँ धेरै बोल्न थालेको साथीहरुले गुनासो गर्नहुन्छ । देशमा धेरै उपद्रो मच्चाएको मान्छे यत्तिको बोल्नु ठिकै हो । काँग्रेस एमाले मिलेर लोकतन्त्रका लागि धेरै संघर्ष गरेको हो, संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकारमा आउने भनेको काँग्रेस इमानमा बस्न सकेन ।’ अहिले माओवादीलाई नाम्लो लगाई बोकेर हिँडिरहेकाे छ ।

ओलीले प्रदेश नम्बर ५ का जनताको भावना विपरीत पहाडलाई तराईबाट अलग गर्न खोजिएको भन्दै यो मधेसी जनताको माग नभएको जिकीर गरे । निर्वाचन गरेर संविधान कार्यान्वयन गर्ने बेलामा सरकारले संविधान कार्यान्वयनसंग कुनै सम्बन्ध नै नभएको संविधान संशोधन विधेयक ल्याएर निर्वाचन नगर्ने षडयन्त्र गरिरहेको ओलीले दोहोर्‍याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ