arrow

काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय भेला-देउवाको आलोचनामा प्रयोग

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
cong-ko-bhela-news-aa.jpeg

काठमाडौं । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलामा सहभागिहरुले नै भेलाको कुनै औचित्य नरहेको र पार्टी नेतृत्वको आलोचना गर्न मात्रै प्रयोग भएको बताएका छन् । शुक्रबार र शनिबार काठमाडौंमा भएको राष्ट्रिय भेलामा पार्टी सभापति देउवाकै आलोचना बढी भएको कार्यक्रममा सहभागि एक कोषाध्यक्षले बताए ।

संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९३औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित भेलाको उद्घाटनमै पार्टी नेतृत्वको आलोचना गरेका नेता रामचन्द्र पौडेलले समापनमा समेत बढी समय आलोचनामै खर्चिए ।

पौडेलले देउवाले गुटको मात्रै नेतृत्व गरिरहेको आरोप लगाए । भेलामा सांगठनिक संरचना र आर्थिक पारदर्शीताका कुरा उठेपनि पौडेल स्वयं र उनी पक्षधरले आलोचनामै समय खर्चिएको बताइएको छ । संविधान संशोधन विधेयक ल्याउँदा समेत पार्टीभित्र कुनै छलफल नगरेको भन्दै नेता पौडेलले एमाललेले रक्षात्मक अवस्थामा पुर्याएपनि बोल्ड डिसिजन गर्न नसकेको घोच लगाए ।

पहिलो पटक भएको भेलामा पार्टीको केन्द्रीय समितिमा पौडेल र महामन्त्री शशांक कोइराला नजिककै सीता देवी यादवको नेतृत्व थियो । भेलालाई गुटको विरोध गर्ने नाममा आफ्नो गुटको रोष पोख्ने फोरम बनाएको गुनासो सहभागिहरुले नै गरेका छन् ।

पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा बृहत छलफल भनिएको भेला सार्थक हुन नसकेको सहभागिको भनाई छ ।

भेला हुनु अघि संयोजक गोविन्द पुडासैनीले पार्टीको कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दा दातालाई दिइएको दबाब, त्यसको दुरूपयोग र अपारदर्शीताका कारण पार्टी र नेता समेत बदनाम भएकाले  निराकरणका लागि भेला गर्न लागिएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ