सुरुङ्गा (झापा) । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमान र अखण्डतालाई कुनै पनि हालतमा कमजोर पार्न नदिने उद्घोष गरेका छन् ।
विद्यमान अवस्थामा विखण्डनकारीबाट देश टुक्र्याउने डरलाग्दो खतरा बढेको बताउँदै राप्रपा अध्यक्ष थापाले देश विद्यमान अवस्थामा भुसको आगोमाथि उभिएको टिप्पणी गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बिर्तामोडमा शनिबार आयोजना गरेको बृहत् हिन्दुत्व जागरण तथा एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको अखण्डतालाई अक्षुण्ण राख्नु दुई पार्टी एक भएको उल्लेख गरे।
थापाले ठूला दलले नेपाली जनताको अभिमतबिना नै धर्म निरपेक्षता जबर्जस्ती लादिएको भन्दै हिन्दू राष्ट्र पुनःस्थापना गर्ने उद्घोषका साथ पार्टी एकीकरण भएको बताए । उनले नेपालीको एकता खल्बलिन नदिन पनि मुलुक हिन्दू राष्ट्र कायम गरेरै छाड्ने दाबी गरे।
अध्यक्ष थापाले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारसँग मागसमेत गरे। कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले झापा राप्रपाको किल्ला भएको बताउँदै हिन्दू राष्ट्र निर्माणमा यहाँका जनताले साथ र सहयोग गर्नुपर्ने बताए । रासस