arrow

रोल्पा घर्तीगाउँमै देखाइयो ‘प्रचण्ड’लाई कालो झण्डा

सँगै थिए रामबहादुर, टाेपबहादुर

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
rolpa-news-aa.jpeg

घर्तीगाउँ, रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहाललाई द्वन्द्वताका भन्ने गरिएको आधार इलाका रोल्पाकै घर्तीगाउँमा वडा–वडाबाट आएकाहरुले कालोझण्डा देखाएका छन् । शनिबार प्रधानमन्त्री दाहाल शहीद मार्गको अवलोकन गर्न भन्दै रुकुमको चुनुवाङ हुँदै रोल्पाको घर्तीगाउँ गुगेकै बेला घर्तीगाउँ १, २ र ७ नम्बर वडाबाट आएका समूहले कालो झण्डा देखाए ।

घर्तीगाउँ– १ उपल्लोडेराबाट मदन सिंह घर्तीमगर नेतृत्वको समूह, वडा नम्बर –२ खोलबाङबाट प्रेमसिंह घर्ती नेतृत्वको समूह र ७–बाजेथानबाट गोपाल सिंह घर्तीमगर नेतृत्वको टोलीले कालो झण्डा देखाएका हुन् । ती समूहमा काँग्रेस, एमालेका कार्यकर्ता र माओवादी निकट केही नखुलेका व्यक्तिहरु सामेल रहेका बताइएको छ ।

उनीहरुले नाराबाजी गर्दै दाहाल सरकारको राजीनामा मागे । उनीहरुले नाराबाजी गर्दै भने, ‘प्रचण्ड सरकार राजीनामा दे, ५ नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, ४ नम्बर प्रदेश चाहिँदैन, संशोधन विधेयक फिर्ता गर ।’ कार्यक्रम विथोल्न खोज्दा भने प्रहरीले उनीहरुलाई रोकेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले आफुले द्वन्द्वकालमा थालनी गरेको शहीद मार्गलाई आफु प्रधानमन्त्री भएकै बेला पूर्णता दिने प्रतिवद्धता गरे । दाहालले भने, ‘रोल्पालाई युद्ध पर्यटनको रुपमा विकास गर्न सकिन्छ ।’ यस्तै, समसामयिक राजनीतिक विषयमा कुरा राख्दै प्रधानमन्त्री दाहालले सबै राजनीतिक दल र असन्तुष्ट पक्षसँगको परामर्शमा नै सरकारले संसदमा संविधान संशोधन विधेयक ल्याएको बताए ।

शहीद मार्ग निरीक्षण र अनुगमनपछि प्रधानमन्त्रीले भने, ‘सबैको परामर्शमै संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो । चार महिना लामो गृहकार्यपछि मात्रै संविधान संशोधन प्रस्ताव दर्ता भयो । मैले संशोधन प्रस्ताव दर्ता गर्नुपूर्व सबैसँग परामर्श गरेको छु । सबैको मध्यमार्गी उपायका रुपमा अहिलेको प्रस्ताव आएको हो । यो प्रस्तावले सबैको चित्त त बुझ्दैन । योभन्दा राम्रो प्रस्ताव अरु पनि हुँदैन ।’

सरकार निर्वाचनको वातावरण बनाउन लागिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले भने,  ‘थारु, मधेशी, जनजातिले नमान्दा पनि चुनावमा जान सकिन्छ त ? सकिँदैन भने सबैलाई मिलाएर जानु अहिलेको आवश्यकता हैन ? थारु, जनजाति, मधेशी लगायत देशका सबै समुदाय र दलहरुलाई मिलाएर मात्र निर्वाचनको वातावरण बन्छ । निर्वाचनको वातावरण नबनाई जवरजस्ती निर्वाचन कार्यान्वयन गर्न सकिँदैन ।’

प्रधानमन्त्रीदाहालले पत्रकार भेटघाट गर्दै सरकारकाविरुद्ध गलत प्रचारबाजी गरिएको भन्दै प्रतिपक्षीको काम प्रतिरोध मात्रै हुन नहुने बताए । प्रधानमन्त्री दाहालले भने, ‘हिन्दी भाषालाई राष्ट्रिय भाषा बनायो, फास्ट ट्रयाक भारतलाई दियो, लुम्बिनी बेचिसक्यो जस्ता वाहियात भ्रमहरु छरिएको छ । तर, भ्रमले सत्यलाई ढाक्न सकिँदैन । सरकार राष्ट्रिय एकता र जनताको जीवनमा परिवर्तन ल्याउन क्रियाशील छ ।’

दाहालसँग नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, वर्षमान पुन, पूर्ण घर्ती, प्रधानमन्त्री कार्यालयका सचिव घर्तीगाउँ पुगे । -जिल्ला सहकर्मी कविता उपाध्यायको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ