पाँचथर। पाँचथर जिल्लाका ग्रामिण स्वास्थ्य संस्थामा औषधी र दरवन्दी अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।जिल्लाका अधिकांश गाविसका उपस्वास्थ्य,स्वास्थ्य चौकीमा अहिले औषधीको अभाव भएको कार्यालयमा कार्यरत कर्मचारीहरु वताउँछन् ।
ग्रामिण भेगका स्वास्थ्य संस्थामा ४३ प्रकारका औषधी निशुल्क रुपमा विरामीलाई वितरण गरिनुपर्ने भएतापनि अहिले ती स्वास्थ्य संस्थाहरुमा ६ प्रकारका सम्म पनि औषधी पर्याप्त मात्रामा नभएको सराङडाँडा स्वास्थ्य चौकी ब्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र वस्नेतले वताए । उनले भने ,“ स्वास्थ्य जस्तो संवदेनशिल क्षेत्रमा विरामीलाई उदारोमा औषधी दिनुपरेको छ,यो जस्तो मानवियताहिन काम अरु के हुन सक्छ र ? यसका लागि जिल्ला स्वास्थ्य कार्यालयले चासो देखाएर औषधी उपलब्ध गराउन आवश्यक छ ।”
यस्तै जिल्लाको स्वास्थ्य संस्थाहरुमा ३ सय १७ जना दरवन्दीको कोटा भएपनि अहिले १ सय दरवन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरु पिएन र अहेवको भरमा संचालन भइरहेको सेवाग्राहीहरु वताउँछन् । यस्तै लिम्वा स्वास्थ्य चौकीका अनमी कवित माखिमले ६ जनाको दरवन्दी भएपनि यस स्वास्थ्य चौकीमा ३ जना कर्मचारीले मात्रै कार्यालय संचालन गरिरहेको वताए ।
यता जिल्ला अस्पताल पाँचथरका प्रमुख डाक्टर पवन कुमार शाहाले टेन्डर प्रक्रियाको कारण औषधी निर्यातमा ढिलाई भएको हुँदा अव एक हप्ताभित्र आइसक्ने वताए ।