शेखर कोइरालाले कोशीमा गर्न खोजेको शक्ति प्रदर्शन केन्द्रले रोक्यो, यस्तो छ सर्कुलर
२२ गते कोशी प्रदेशको सम्मेलन विराटनगरमा आयोजना गर्ने तय भइसकेको अवस्थामा १७ गतेदेखि १३७ पालिकाका सभापतिहरुको डाकिएको थियो छुट्टै भेला
बाबु नेपाली,
प्रकाशित २०८१ मंसिर १७ सोमबार
3.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेशमा गर्न खोजेको शक्ति प्रदर्शनलाई केन्द्रीय कार्यालयले रोकेको छ ।
शेखर कोइरालाले सोमबारदेखि बुधबारसम्म (मंसिर १७ देखि १९ गतेसम्म) कोशी प्रदेशका १३७ पालिकाका सभापतिहरुको भेला डाकी वृहत छलफल चलाउन खोजेका थिए ।
पहिलो दिनको कार्यक्रम कार्यक्रम मोरङको बेलबारीमा बेलबारी नगरपालिकाले ब्रिमल्याण्ड फनपार्कमा आयोजना गरी साँझ भेला भइ मंगलबार बिहान सबै विराटनगरको जैन भवनमा विराटनगर महानगर कार्यसमितिको आयोजनामा कार्यक्रम गर्ने तय भएको थियो ।
विराटनगर महानगर कार्यसमितिका सभापति दिपक चापागाईको संयोजकत्व र बेलबारी नगर कार्यसमिति सभापति छत्र लिम्बूको सहसंयोजकत्वमा मोरङका सबै पालिकाले आयोजना गरी भब्यताका साथ कोशी प्रदेशका सबै जिल्लाका सबै पालिकाका सभापतिहरुको भेला डाकिएको थियो ।
शेखर कोइरालाले स्थानीय तहको उपनिर्वाचनमा मोरङमै पार्टीलाई जिताउन नसकेर आलोचना खेपिरहेका बेलामा उनको योजनामा हुँदै गरेको भेलालाई पार्टीले अवैध घोषणा गरिदिएको हो ।
उक्त भेला डा शेखर कोइरालाको प्रमुख आतित्थ्यमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व उपसभापति विजयकुमार गच्छदार र महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरुलाई विशेष अतिथिको निम्तो दिइएको थियो ।
‘संगठनभित्र सक्रियता सहितको हार्दिकता, एकता र पहिचानः लोकतान्त्रिक पद्दतिमा विधि र विधानको कार्यान्वयन’ भन्ने मूल नाराका साथ पहिलो ऐतिहासिक प्रदेश स्तरिय पालिका सभापति भेला आयोजना गर्न खोजिएको थियो ।
यो भेलामा १३७ वटा पालिकाका सभापतिको काम, कर्तव्य र अधिकार साथै आपसी सम्बन्ध सुदृढ उदेश्यसहित आयोजना गर्न लागिएको थियो ।
उक्त भेलामा पहिलो अतिथिको रुपमा आइतबार खोटाङ जिल्लाका पालिका सभापतिहरुलाई स्वागत गरिएको कांग्रेस बेलबारी नगर समिति सभापति तथा यस भेलाका कार्यक्रम सह–संयोजक छत्र लिम्बूले जानकारी दिए ।
स्वागत गर्नलाई कांग्रेसका महासमिती सदस्य तथा केराबारी गाउँपालिकाका पुर्व अध्यक्ष रोहित कार्की, सभापति लिम्बू, कांग्रेसका महाधिवेशन प्रतिनिधि विजय तोलाङी, कांग्रेस विराटनगर महानगर वडा न. १ सभापति छवि पराजुली, कांग्रेस बेलबारीका नेता पूर्ण खड्का लगायतका ब्यक्तिहरुको उपस्थितिमा खोटाङ जिल्लाका पालिका सभापतिहरुलाइ स्वागत गरिएको थियो ।
अन्य पालिकाहरुबाट पनि धमाधम कार्यक्रमका लागि भेला भइरहँदा पार्टीले अचानकसँग कार्यक्रम रोक्न आदेश दिएको हो । यसले केन्द्रसँग तालमेल नगरी कोशी प्रदेश अगाडि बढेकोसमेत देखिएको छ ।
किन रोक्यो केन्द्रले कार्यक्रम ?
पार्टीले कांग्रेसको वैधानिक प्रावधान अनुरुप सबै तहको सम्मेलन गर्ने प्रक्रिया प्रारम्भ भएको भन्दै त्यस विपरीत गर्न लागिएको भेला रोक्न भनेको हो ।
कोशी प्रदेशका सबै जिल्ला कार्यसमितिलाई सोमबार पत्र लेख्दै कांग्रेस केन्द्रीय कार्यालयले मंसिर २२ गते शनिबार कोशी प्रदेशको सम्मेलन विराटनगरमा आयोजना गर्ने तय भइसकेको अवस्थामा त्यसअघि कुनै पनि पार्टीका कार्यक्रम नभएको भन्दै शेखर कोइरालाले गर्न लागेको कार्यक्रमलाई रोकिदिएको हो ।
पार्टीको १४ औँ महाधिवेशनमा सभापतिमा लडेका डा. शेखर कोइरालाले समय अगावै कोशीबाट १५ औँ महाधिवेशनका लागि उम्मेदवारी घोषणाको तयारी गरेसँगै विधि र विधान विपरीत भेला डाकिएको भन्दै केन्द्रले पत्र काटेर कार्यक्रम रोकेको हो ।