arrow

अर्बौ लगानीको नहरमा पानी चढेन

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
morang-j.jpg.jpeg
इटहरी । अर्बौको लगानी भइसकेको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा पछिल्लो समयमा नदीको पानी नचढ्ने समस्या थपिएको छ । सोका कारण किसानका खेतमा सिँचाइका लागि पानी प्रवाह हुन छाडिसकेको छ । अर्कातिर नदीले बगाएर ल्याएको बालुवा धेरै हुन थालेपछि किसानका खेतसम्म बालुवा पुग्ने क्रम तीव्र बनिरहेको छ । सुनसरी र मोरङ जिल्लाका ६८ हजार कृषियोग्य भूमिका लागि सिँचाइ पु¥याउनका लागि क्रमागत रुपमा विश्व बैङ्क लगायत दाता राष्ट्र र भारत समेतको त्यसमा लगानी परेको छ । 

कम्तीमा ३० वर्ष लामो आयु रहेको आयोजना नहरको भौतिक पूर्वाधारका संरचना पनि बिस्तारै काम नलाग्ने बन्दै गइरहेको छ । यही क्रमले नदीबाट नहरमा आउने बालुवा छान्नका लागि पुरानो ‘इन्टेक’ भएका चतरामा राखिएको अरुण र वरुण नामक बालुवा छान्ने ड्रेजर मेसिनको पनि आयु सकिँदै जाँदा काम नगर्ने भएपछि त्यो यन्त्रले बालुवा छान्ने काम पनि गर्न छाडेको छ । 

अर्बौको लगानीमा जर्मन प्रविधिका ड्रेजर मेसिनले काम नगरेसँगै त्यो यन्त्र चलाउनका लागि निर्माण गरिएको ३।५ मेगावाट क्षमताका विद्युत् उत्पादन गर्ने दुई यन्त्रले समेत तीन वर्षदेखि काम गर्न छाडेकाले चलाउनका लागि पनि समस्या परेको छ । नहरको पानीबाट नै विद्युत् उत्पादन गर्ने र ड्रेजर मेसिन त्यही विद्युत्ले चलाउने उद्देश्यका साथ बनाइएको चतरा विद्युत्गृहले विद्युत् उत्पादन नगरेको तीन वर्ष बितिसक्दा पनि सरकारले सो विषयमा ध्यान नदिएको तर्फ भने सुनसरी मोरङ सिँचाइ आयोजनामा कार्यरत प्राविधिकले आश्चर्य व्यक्त गर्दैआएका छन् । 

इन्जिनियरले सुनसरी मोरङ सिँचाइ नहरलाई राज्यले राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएर विशेष निगरानी र लगानी गर्ने वातावरण बनाउनुपथ्र्यो –प्राविधिकको भनाइ छ ।  छिमेकी मुलुक भारतले निर्माण गरिदिएको आयोजनाको मूल नहरको लम्बाइ ५३ किमी अर्थात् सुनसरीको बराह क्षेत्रको चतरादेखि मोरङ जिल्लाको बाहुनी गाविससम्म लामो नहरको दायाँबायाँ २२ शाखा नहर छन् । 

ती शाखा नहरको लम्बाइ ५०० किमी छ । त्यसैगरी शाखा तथा मुख्य नहरबाट अन्य अनगन्ती सहायक नहर रहेका र ती सबै सहायक नहरको लम्बाइ कम्तीमा एक हजार ५०० किमी रहेको आयोजनाका प्रबन्धक शिशिर कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार मुख्य नहरको आयु नै सकिइसकेको र अन्य शाखा र सहायक नहर त झनै काम नै नलाग्ने अवस्थामा पुगेकाले ती शाखा र सहायक नहरबाट किसानका खेतमा पानी पु¥याउन ज्यादै कठिनाइ परिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ