एकै क्षण–एउटै मञ्च : १५ महिना छुट्टिएर बस्दाको विलौना कि सच्चा प्रेम ?

प्रचण्ड माओवादीको अनुहार फेरिए एकता हुन सक्छ : बाबुराम

प्रकाशित मिति : २०७३ पौष ११ सोमबार
तस्वीर : रासस

काठमाडौं । पूर्व सहयात्री पुष्पकमल दाहाल र नयाँ शक्ति नेपालका संयोजक  बाबुराम भट्टराईले एकअर्कालाई आ–आफ्नो ‘परिपूरक’ भन्दै प्रेम प्रकट गरेका छन् । प्रधानमन्त्री समेत रहेका दाहालले बाबुरामको बहिर्गमन आफुलाई अहिले पनि सामान्य नलागेको बताए । दाहालले बाबुरामले हतार गरेको समेत सुनाए ।

कुम टाँसेर एउटै मञ्चमा बसेका दुवैले एउटै ठाउँबाट मित्रता प्रकट गरे । १५ महिना छुट्टिएर बस्दाको विलौना विसाउने चौतारी बन्यो ‘चाचा’ भक्तिप्रसाद पाण्डेको संघर्षयात्रा’ पुस्तकको विमोचन समारोह । सोमबार पुस्तकको संयुक्त विमोचन गर्दै पुष्पकमल दाहालले बाबुराम र प्रचण्ड एकअर्काका पूरक हुन् भन्ने इतिहासमा पुष्टि भएको बताए ।

संविधान जारी भएको एकसाता नपुग्दै २०७२ असोज ९ गते तत्कालीन एकीकृत माओवादीबाट अलग भइ नयाँ शक्ति पार्टी गठन गरेका बाब्ुराम भट्टराईले समेत प्रचण्ड र आफूबीच व्यक्तिगत कुनै दुश्मनी नरहेको बताए । यद्यपि, उनले घुमारो भाषामा माओवादीको हिजोकै अनुहार वा तवर तरिकाबीच एक हुने सम्भावना रहँदैन भने । उनले पुरानो माओवादी ठिन नभएको भन्दै परिमार्जन भएर अहिलेको आवश्यकताको दिशामा आए एकता गर्न तयार रहेको छनक दिए ।  

भट्टराईले अगाडि भने, ‘प्रचण्ड र बाबुरामको भूमिकाबारे मान्छेहरुले चर्चा गर्ने गर्छन् । त्यो कुनै हाम्रो व्यक्तिगत सम्बन्ध थिएन र अहिले पनि कुनै दुश्मनी छैन । उत्तिकै सौहार्दता छ । तर, विचारमा केही भिन्नताहरु छन् । हिजो पनि थियो र त्यही कारणले गर्दा हाम्रो अन्तरसंघर्ष विचारमै केन्द्रित थियो ।’

भट्टराईले थपे, ‘पछि हामी फरक बाटो लाग्नुको पछाडि पनि विचारकै कारणले गर्दा हो, अरु कुनै कारणले गर्दा होइन । यसबारे कुनै पनि प्रकारको भ्रम साथीहरुमा, स्रोताहरुमा र जनतामा नपरोस् भन्ने म आग्रह गर्न चाहान्छु ।’

भट्टराईले शिलशिलावद्ध भने, ‘भर्खरै प्रधानमन्त्रीजीले तपाई अलि हतारिनु भो भन्नुभो, मैले तपाईलाई गाह्रो हुन्छ कि, त्यसैले म अगाडि हिँडे है भनेँ । मिल्न सकिन्थ्यो होला, तर तपाई जुन ठाउँमा हुनुहुन्छ, जुन जिम्मेवारीमा हुनुहुन्छ, त्यसले गर्दा तपाईलाई गाह्रो हुन्छ । त्यसैले म एक्लै अगाडि बढेको हो । पहिले पनि मैले भनेँ र उहाँकै अगाडि म यो भन्न चाहन्छु ।’

कार्यक्रमको विषय प्रवेश गर्दै भट्टराईले भने, ‘माओवाद हिजो जे थियो त्यो त्यतिबेलाको लागि ठिक थियो । पछि स्टालिनबाट बिग्रिएको त हो नि ! फेरि पनि उहाँ (भक्ति पाण्डे) को मनसाय के थियो भने यिनीहरु (प्रचण्ड र बाबुराम) मिल्नुपर्छ भन्ने थियो । तर, विचारमा हामी एक हुने हो, विचार, नीति र कार्यक्रम एक हुनुपर्‍यो । माओ दिवस पनि भएको हुनाले म भन्न चाहन्छु, अब नेपालमा पुरानो माओवादको आवश्यकता छैन, माओवाद जुन एउटा भाष्य हो, परिभाषा हो, जुन रुपले हामीले हिजो बुझ्यौं, त्यतिले पुग्दैन । हिजोको युगको निम्ति त्यो ठीक थियो, यथार्थ कुरो स्वीकार नगर्ने, पार्टीभित्र गुटबन्दी गर्ने, पार्टीभित्र अस्वस्थ्य खालको प्रतिस्पर्धा गर्ने र एउटाले एउटाको भूमिका उचाल्दिने, अर्काले अर्काको भूमिका उचाल्दिने । र, यथार्थ कुरालाई हामीले बंग्याइदिने काम हिजो पनि भयो र अहिलेसम्म भइराखेको छ ।’

भट्टराईले भने, ‘कुनै पनि पूरक भूमिकाहरु केन्द्रित नभइकन कुनै क्रान्तिकारी आन्दोलन सफल हुँदैन । त्यसकारण मलाई पनि लाग्छ हाम्रो पूरक भूमिकाकै कारण हाम्रो आन्दोलन त्यहाँसम्म पुगेको थियो । एउटाले मात्रै सबैथोक गरेको थियो भनिन्छ भने त्यो सत्य थिएन । अहिले हामी आ–आफ्नो बाटोमा लागेर, आ–आफ्ना प्रयोगहरु गरेर अनि त्यसको आधारमा ढोका खुल्ला राख्दै फेरि भोलिको निम्ति नयाँ आधारमा रुपान्तरणसहितको नयाँ प्रकारको बाटो निर्माण गर्न हामी खुल्ला रहनुपर्छ ।’ यो ढंगले सोच्नु नै भक्ति पाण्डेप्रति श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ ।

त्यसअघि प्रधानमन्त्री दाहालले भट्टराईतिर इसारा गर्दै भनेका थिए, ‘संविधान त बन्यो । तर, यसले मात्रै एउटा युगको प्रतिनिधित्व गर्दैनथ्यो । संविधान कार्यान्वयनको चुनौतीपूर्ण कार्यभार बाँकी नै थियो । हामी बहस गर्दै साझा निष्कर्षमा पुग्न सक्थ्यौं । तर, बाबुरामजी हतारिनुभयो । उहाँको बहिर्गमन अहिले पनि मलाई सामान्य लागेको छैन ।’ प्रधानमन्त्री दाहालले यसअघि पनि औपचारिक कार्यक्रममा बाबुराम र विप्लव, वैद्यसँग निल्नुको विकल्प नरहेको बताउँदै आएका थिए ।

नयाँ