काठमाडौँ । विश्व ध्यान दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले साधना शिविर सञ्चालन गरेको छ ।
साधना शिविरमा बोल्दै मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली वाईजीले हाम्रा ऋषिमुनिले ध्यानलाई विशेष प्राथमिकता दिएको बताउँदै हामीले पनि दैनिक ध्यानको अभ्यास गर्नुपर्ने बताइन्।
ध्यानकै माध्यमबाट आत्मा र परमात्माको अनुभव गरी साधकको जीवन जिउन सकिने उनले बताइन्।
समितिका देशभरिका क्षेत्र आश्रममा तथा शाखा आश्रमहरूमा सञ्चालित शिविरमा एक हजार आठ सय ५४ प्रेमीहरूको उपस्थिति रहेको समितिका अध्यक्ष विनोद शर्माले बताए ।
साधना शिविरमा मानव धर्मको केन्द्रीय आश्रममा गौशाला काठमाडौँमा ३६० जना, मेची क्षेत्र आश्रममा २७६ जना, कोशी क्षेत्र आश्रममा ३०५ जना, जनकपुर क्षेत्र आश्रममा ६० जना, सगरमाथा क्षेत्र आश्रममा ९४ जना, नारायणी क्षेत्र आश्रममा ९७ जना , गण्डकी क्षेत्र आश्रममा ७३ जना, लुम्बिनी क्षेत्र आश्रममा २०३ जना, भेरी क्षेत्र आश्रममा ११० जना, सेती क्षेत्र आश्रममा १६९ जना, कर्णाली क्षेत्र आश्रममा ३२ जना र महाकाली क्षेत्र आश्रममा ७५ जना सहभागी रहेका थिए ।
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाएका छन् ।
डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो ।