arrow

द्वन्द्वको घाउ

शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुङ्गिन सकेनन् - प्रचण्ड [भिडियो]

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन अर्को १८ वर्ष लाग्न सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
prachanda-25.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो नलाग्ने बताएका छन् । बुधबार काठमाडौँमा शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरूको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउन नसक्ने अवस्था रहेको बताए । 

उनले शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउने विषय राजनीतिक कारणले अड्किएको बताए । शान्ति प्रक्रियाका कामहरू टुङ्ग्याउने विषयलाई कतिपयले बिजनेसको रूपमा लिएको र कतिपयले माओवादीलाई तह लगाउने अन्तिम अस्त्रको रूपमा लिएकाले टुङ्गिन नसकेको बताए ।

प्रचण्डले भने, ‘पीडितहरूले पटक पटक यो विषयलाई उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु, किनकि अन्तिममा चाहिँ त सडक नै हुने हो की जस्तो मलाई अन्तरक्रिया, गोष्ठी, विवाद, बहस पनि हो । त्यसले केही नि हुँदैन भन्ने मेरो भनाइ होइन । त्यसले पनि केही न केही वातावरण बनाउन मद्दत गरेको छ । तर यहाँ विषय कानूनी भन्दा पनि राजनीतिक नै छ । १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता आफैँमा राजनीतिक सहमतिका दस्ताबेज हुन् । ती सम्झौताहरू सबै संविधानको अङ्गको रूपमा मानिएको छ । ती संविधान पनि हुन् । तर कुरा अहिले टुङ्ग्याउन कठिन भएको राजनीतिक नै हो । राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । शान्ति सम्झौता के कारणले भयो, त्यहाँ ठुलो युद्ध भयो, हजारौँको बलिदान भयो । राज्य पक्षको पनि विद्रोही पक्षको पनि । एउटा जबरजस्ती परिवेश बन्यो र त्यसैले राजनीतिक नेतृत्वलाई शान्ति सम्झौतामा जानुपर्छ भन्नेतिर उत्प्रेरित गर्‍यो । एउटा प्रवृत्ति यो बिजनेस किन टुङ्ग्याउनु भन्ने छ । अर्को राजनीतिक प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम बाँकी रहेको यही छ, किन टुङ्ग्याउनु र ? माओवादी सिद्ध्याएर मात्रै अनि के गर्नुपर्छ, गरौँला भन्ने छ ।’

प्रचण्डले सडकबाट राज्यलाई र राजनीतिक नेतृत्वलाई अब नसुध्रिए बरबाद हुन्छ भन्ने ठाउँमा नपुर्‍याएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन अर्को १८ वर्ष लाग्न सक्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ