arrow

स्वास्थ्य मन्त्रालयले ५० लाखको कम्पोनेन्ट मेसिन दिइने

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
health-ministry.jpeg
सुरुङ्गा (झापा)। झापाको विर्तामोडमा निर्माण भएको रक्तसञ्चार सेवा भवनका लागि स्वास्थ्य मन्त्रालयले ५० लाख मूल्य बराबरको ‘कम्पोनेन्ट’ मेसिन (रगत वर्गीकरण गर्ने उपकरण) प्रदान गर्ने भएको छ । 
 
रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार मन्त्रिस्तरीय निर्णयबाट उक्त उपकरण रक्तसञ्चार सेवालाई प्रदान गर्ने निर्णय भएको र नेपाल रेडक्रस सोसाइटीसँग सम्झौतासमेत भइसकेको छ । 
 
यसैबीच स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले शुक्रबार विर्तामोडस्थित रक्तसञ्चार सेवा भवनको निरीक्षण गरेका छन् । गुरुङले निरीक्षणका क्रममा मानिसको जीवनसँग जोडिएको रगत आपूर्तिको सेवालाई प्रभावकारी बनाउन जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पोनेन्ट मेसिन जतिसक्दो छिटो पठाउने बताए । 
 
यता सांसद सुधीरकुमार शिवाकोटीले रेडक्रसको मानवीय सेवाको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने बताए । त्यस्तै सांसद हरिबहादुर राजवंशीले चाहिएको बेला रगतको महत्व थाह हुने बताउँदै रगतको आपूर्तिले सबैखाले विभेद् बिर्साएको बताए । 
 
रेडक्रसले विर्तामोडसहित छ स्थानमा ‘ब्लड बैंक’ सञ्चालनमा ल्याइ सेवा दिइरहेको रेडक्रस सोसाइटी विर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए । 
 
कम्पोनेन्ट मेसिनले रगतमा रहेको आरबिसी, डब्लुबिसी, प्लाज्मा, प्लेटलेट जस्ता तत्व छुट्याउने र जसलाई जुन तत्व आवश्यक छ त्यही मात्र दिन सकिने नेपाल रेडक्रस सोसाइटी विर्तामोडका सभापति सजेश शिवाकोटीले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ