जय ट्रफी क्रिकेटमा उपाधिका लागि आर्मी र पुलिस मैदानमा, पहिलो दिन १७ ओभर सम्भव
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
729
Shares
काठमाडौँ । जय ट्रफी पुरुष इलाइट कप क्रिकेटको उपाधि भिडन्त भइरहेको छ । तीन दिवसीय फाइनलमा उपाधि भिडन्तमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिडिरहेका छन् ।
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा मंगलबार बिहान ९ः३० बजेदेखि शुरु हुनुपर्ने फाइनल खेल दिउँसोमात्र शुरु भएको छ । प्रतिकुल मौसमका कारण ढिला गरी खेल शुरु भएको हो ।
खेलमा टस हारेर पुलिसले पहिले ब्याटिङ गरिरहेको छ । पहिलो बलमै दिलिप नाथलाई गुमाएको पुलिसका लागि कुशल भुर्तेल र अमित श्रेष्ठले सम्हाले । पहिलो दिनको समाप्तिसम्म १७ ओभर सम्भव खेलमा पुलिसले २ विकेटको क्षतिमा ८५ रन बनाएको छ ।
अमित २० रन बनाएर आउट भएका छन् ।
दोस्र्रो सदिन बुधबार कुशल भुर्तेलले ५० रनबाट अगाडि खेल्नेछन् भने उनलाई खाता नखोलेका अर्जुन साउदले साथ दिनेछन् ।
सोमपाल कामी र सहाब आलमले १–१ विकेट लिएका छन् ।
चार टोली सहभागी रहेको प्रतियोगितामा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
प्रतियोगितामा सहभागी बागमती प्रदेश र मधेस प्रदेश भने क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै बाहिरिएका थिए ।
आपसमा एक एक खेल खेलेपछि अंकका आधारमा आर्मी र पुलिस फाइनलमा पुग्दा बागमती र मधेस बाहिरिएका हुन् । पुलिसले ६६, आर्मीले ५५, बागमतीले ४१।५ तथा मधेसले ३१ अंकमात्र बटुल्यो ।
प्रतियोगिताका समूह चरणका खेल जनकपुरको मैदानमासमेत भएका थिए ।