कुम्भमेलाबारे एप्पलका मालिकले लेखेको पत्र ६ करोड ९५ लाखमा लिलामी
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
789
Shares
प्रयागराज । एप्पलका सहसंस्थापक स्टिभ जब्सकी श्रीमती लौरेन पावेल जब्स प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ–२०२५ मा सहभागी हुन भारतमा छिन् ।
यसैबीच स्टिभ जब्सले सन् १९७४ मा कुम्भमेलाको सन्दर्भमा लेखेको पत्र अहिले चर्चाको विषय बनेको छ । यो पत्रमा जब्सले कुम्भ मेलाप्रति आफ्नो रुचि र भारत भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । यो हालै बोनहम्सले अमेरिकी डलर ५ लाख ३१२ (लगभग ६ करोड ९५ लाख) मा लिलामी भएको छ ।
जब्सले आफ्नो बाल्यकालका साथी टिम ब्राउनलाई आफ्नो १९ औं जन्मदिन फेब्रुअरी २३ मा यो पत्र लेखेका थिए । यो चिठी बाहिर आएपछि स्टिभ जब्सकी श्रीमती पावेल पतिको इच्छा पूरा गर्न महाकुम्भमा आएको जनाएकी छिन् ।
स्टिभ जब्सले पत्रमा लेखेका छन्, ‘म अहिले लस गाटोस र सान्ता क्रुजकोबीचको पहाडमा एउटा फार्ममा बसिरहेको छु, म अप्रिलमा शुरु हुने कुम्भमेलाका लागि भारत जान चाहन्छु । म मार्चमा केही समय जान्छु, यद्यपि अझै पक्का छैन ।’
उनले पत्रको अन्त्यमा लेखेका छन् ‘ शान्ति, स्टिभ जब्स । जुन पत्र अहिले लिलामी भएको हो ।’
स्टिभ जब्सकी पत्नी लरेन पावेल ४० सदस्यीय टोली लिएर प्रयागराज पुगेकी छन् । जब उनी महाकुम्भमा आइन्, उनका गुरु स्वामी कैलाशानन्दले उनलाई ‘कमला’ भन्ने नयाँ हिन्दू नाम दिएका छन् ।
उनी ध्यान, क्रियायोग र प्राणायाम जस्ता आध्यात्मिक अभ्यासमा भाग लिँदै आएकी छिन् तर मकर संक्रान्तिमा ठूलो भीड हुने भएकाले एलर्जीका कारण उनले संगममा डुब्न सकिरहेकी भने छैनन् । उनको आगमनसँगै यो कार्यक्रमले थप अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।
गत १३ जनवरी २०२५ देखि शुरु भएको महाकुम्भमा हालसम्म ५ करोड १५ लाखभन्दा बढी भक्तजनले संगममा स्नान गरिसकेका छन् ।
फेब्रुअरी २६ सम्म चल्ने उक्त कार्यक्रममा ४० करोडभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।