साेह्र लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप : मन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
2.3k
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन्।
काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरहेको बताएका हुन्।
‘महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने।
उनले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताए। सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उनले जानकारी दिए।
स्वास्थ्यमन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बिमाको रकमसमेत बढाउँदै आम नागरिकको उपचारमा खर्च गर्ने गरी सरकारले योजना बनाएको उल्लेख गरे।
‘हाल स्वास्थ्य विमाको रकम रु एक लाख रहेको छ, हामी त्यसलाई बढाएर रु पाँच लाख बनाउने गरी योजना बनाइरहेका छौँ,’ उनले भने।
छिरिएर रहेको स्वास्थ्य रकमलाई बिमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने उनको भनाइ थियो। उनले नेपालको स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त नभएको उल्लेख गरे।