arrow

मुलुकलाई बत्ति बालेरै लोडसेडिङ मुक्त गरिन्छ: ऊर्जामन्त्री शर्मा

माथिल्लो मादी जलविद्युत् आयोजना उद्घाटन

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
Madi-Bidhyut_-4.jpeg
पोखरा । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले घोषणा गरेर नभई बत्ति बालेर मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने अभियानमा जुटेको बताएका छन् । 
 
कास्की जिल्लाको सिल्दुजुरे गाविस–९ बाहुनडाँडामा निर्माण सम्पन्न भएको २५ मेगावाटको माथिल्लो मादी जलविद्युत् आयोजनाको शुक्रबार उद्घाटन गर्दै शर्माले प्राविधिक कारणले तराईका केही जिल्लाबाहेक हाल मुलुकमा कहीँपनि विद्युत्भार कटौती नभएको बताए । जलविद्युत् आयोजना निर्माणमा स्थानीय जनसहभागिता अपरिहार्य रहेको बताउँदै शर्माले उत्पादित विद्युत् खपतका लागि मुलुकमा ठूला उद्योग सञ्चालनमा निजी क्षेत्रको ध्यान केन्द्रित हुनुपर्छ भने । 
 
‘नेपालको पानी जनताको लगानी’ भन्दै ऊर्जामन्त्री शर्माले विद्युत् उत्पादनसँगै औद्योगिकीकरण गरेर पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र सडकको विकास निर्माणमा जुट्नुपर्नेमा जोड दिए ।
 
 व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको राजनीति भाषणको नभई उद्योमशीलता र मुलुकको समृद्धिका लागि गर्नुपर्ने बताए । 
 
सांसद यज्ञबहादुर थापाले निजी क्षेत्रको व्यावसायिक कौसलतालाई प्रयोग गरेर अगाडि बढ्नुपर्ने बताउँदै लोकतन्त्रको रक्षाका लागि मुलुकमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।
 
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले नेपालको निजी क्षेत्र जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताउँदै सरकारले लगानीको सुनिश्चितता दिन माग गरे। 
 
५ अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक लगानी जुटाएर निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, भूकम्प र सुरुङ खन्नेक्रममा पहिरो जाँदा लागत बढेर रु सात अर्ब पुगेको जलविद्युत् आयोजनाका अध्यक्ष विजयबाबु मल्लले जानकारी दिए । 
 
मल्लका अनुसार आयोजनाको २० प्रतिशत र चाइना अन्तर्राष्ट्रिय वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) को ८० प्रतिशतको आर्थिक सहयोगमा विसं २०६९ को पुस महिनाबाट आयोजनाको निर्माण कार्य सुरु गरिएको हो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ