काठमाडौँ । प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजेदेखि शुरु भएको छ । सांसदहरु चिटिक्क परेर साढे चार महिनापछि संसदमा पुगेका छन् ।
तर बैठकको शुरुमै विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध गरेको छ । रास्वपाका सांसदहरु उभिएर संसद बैठकमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भनी पटक पटक अनुरोध गरे पनि रास्वपाले पहिले बोल्न पाउनु पर्ने भन्दै अवरोध गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्रीसँगै दलहरुका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची छ । यो पाँचौँ अधिवेशन हो ।
सभामुखले आफ्नो पालोमा बोल्न आग्रह गरे पनि रास्वपा सांसदहरुले बैठक अगाडि बढाउन दिएका छैनन् । उनले पटक पटक सभा सञ्चालन गर्न दिन आग्रह गरिरहेका छन् ।
पटक पटक अनुरोध गर्दा पनि नमानेपछि १ बजेदेखि शुरु भएको बैठकको १ः२३ बजे आदेश नै दिएका छन् । उनले भने, ‘माननीयहरु विशेष अनुरोधले नपुगेर आदेश गर्दछु बस्नुस् ।’
केही मिनेटपछि उनले भने, ‘मैले आसन ग्रहणका लागि आदेश दिइसकेको छु । हाम्रो नियमावलीले त्यही कुरा भन्छ । त्यसैले माननीय सदस्यहरु प्रतिनिधि सभा नियमावली २०७९ अनुसार बसेर सभा सञ्चालन गर्नका लागि आदेश गर्दछु ।’
तर रास्वपा सांसदहरु नबसेपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने भन्दै अगाडि बढेका छन् ।
आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमासमेत कुनै छलफल नभएको विषयमा आएर रास्वपाले विरोध गरेको भन्दै सभामुख देवराज घिमिरेले अगाडि बढेको बताएका हुन् ।
राष्ट्रपतिको पत्र पढिरहँदा रास्वपाले भने नाराबाजी गरिरहेको थियो ।