मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै गठबन्धन टुंगिन्छ : मन्त्री गुरुङ
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २१ सोमबार
400
Shares
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन टुङ्गिने बताएका छन् ।
लमजुङस्थित मर्स्याङ्दी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटनपछि सञ्चारमन्त्री गुरुङले मुलुक असफल हुनबाट जोगाउन दुई ठूला दल एकजुट हुनुपरेको धारणा राखे ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले ठूला दलबीच गठबन्धन गर्नुपर्ने अवस्था आउनुको कारण विगतमा अस्थिर र बेथितिको सत्ता शासन प्रवृत्ति रहेको उल्लेख गरे ।
हालको गठबन्धन सरकारले जनतालाई सुशासन, सेवा, विकास र समृद्धिको बाटोतर्फ डोर्याउन खोजेको सञ्चारमन्त्री गुरुङको भनाइ थियो ।
यसै उद्देश्यका साथ सरकारले संसद्मा ल्याएको ६ अध्यादेश जसरी पनि पास गराउनुपर्ने उनले बताए ।
यद्यपि संसद्मा अध्यादेशको विरोध गरेर प्रतिपक्षि दलले जनताको अहित गरिरहेको उनले बताए ।
“जनताको समृद्धि टेकेको अध्यादेशको विरोध गर्नु ठीक होइन,” सञ्चारमन्त्री गुरुङले भने, “मुलुकको विकास र उन्नती चाहनेले छिटोभन्दा छिटो अध्ययादेश पास गराउन सघाउनुपर्छ ।”
अबको ६० दिनभित्र सरकारले ल्याएका अध्यायदेश पास गरेर नेपालमा सुशासन कायम गराउने सञ्चार मन्त्री गुरुङले बताए ।
उनले एमाले र कांग्रेसबीचको सात बुँदे सहमति पूरा नहुँदासम्म वर्तमान सरकार रहिरहने उनले बताए ।
सहमति बुँदामा भएको महत्वपूर्ण विषय संविधान संशोधन रहेकाले यो गठबन्धन सरकारले संविधान संशोधनसमेत गर्ने सञ्चार मन्त्री गुरुङको भनाइ थियो ।
“सङ्घीय शासन प्रणाली लोकतन्त्रको प्रभावकारी शासन प्रणाली हो, संविधान संशोधन गरेर समय सापेक्ष बनाउन आवश्यक छ,” उनले भने, “सबैको साझा सहमतिबाटै संशोधन प्रक्रिया पूरा गर्छौँ ।”
मन्त्री गुरुङले सञ्चार मन्त्रालयमार्फत नेपाललाई सूचनाप्रविधिको क्षेत्रमा अब्बल बनाउने, विद्युतीय शासन प्रणालीको अभ्यास गर्ने, सूचना प्रविधिबाट रोजगारका सम्भावना खुलाउने, नेपाललाई इन्टरनेट सुविधा सम्पन्न बनाउनेलगायतका कार्य गर्दैै आएको उनले बताए ।