arrow

गोरखाको स्वाँरामा पहराभित्र ठूलो परिमाणमा विस्फोटक पदार्थ भेटियो

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
Gorkha-hamrakura-new-.jpg.jpeg.jpeg
गोरखा। गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जङ्गलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ । 
 
बाख्रा चराउन आइतबार दिउँसो जङ्गल पुगेका स्वाँराका विष्णु तामाङले बोराभित्र विस्फोटक पदार्थ देखेपछि प्रहरी चौकी सौरपानीमा खबर गरेपछि प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो । 
 
प्रहरी चौकी सौरपानीका प्रहरी सहायक निरीक्षक रुकमानसिं खत्रीले भन्नुभयो – “ओडारको खोँचमा ढुङ्गाले च्यापेर राखेको अवस्थामा दुई बोरा तारसहित डेटोनेटर (बम बनाउन प्रयोग गरिने सामग्री) फेला पारेका छौँ । बरामद भएको विस्फोटक पदार्थ आज जिल्ला प्रहरी कार्यालय पठाउँछौँ ।” उक्त विस्फोटक पदार्थ तत्कालीन माओवादीले द्वन्द्वकालमा लुकाएको हुनसक्ने अनुमान गरिएको छ । 
 
स्वाँराको जङ्गलमा डेटोनेटरसहित तारहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पुष्टि गर्नुभयो । तीन हजार ९०० थान इलेक्ट्रिक तार जडान गरिएको डेटोनेटर बरामद भएको प्रनाउ थापाले जानकारी दिनुभयो । 
 
नेपाललाई बारुदी सुरुङमुक्त घोषणा भएको लामो समय भए पनि स्वाँरा क्षेत्रमा विस्फोटक पदार्थ भेटिने क्रमः रोकिएको छैन । तीन वर्षअघि स्वाँरा–८ को खरभिरको ओडारमा भेटिएको विस्फोटक पदार्थ खेलाउँदा १२ वर्षीय सचिन बराम र ११ वर्षीय ज्ञानबहादुर बराम घाइते भएका थिए । सचिनले बायाँ हातका चार औँला गुमाउनुपरेको थियो । 
 
जङ्गलमा जथाभावी रुपमा अझै पनि तारहरु यत्रतत्र रहेको गोठालाले बताएको स्वाँराकी सलिना गुरुङको भनाइ छ । स्वाँराको जङ्गल क्षेत्रमा द्वन्द्वका बेला माओवादी बस्ने गरेकाले त्यसबेला छाडेका वा लुकाइएका विस्फोटक पदार्थ अहिले देखा पर्दै आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ