arrow

नेताहरुको ढिपीले तीन दलबीच कुरा मिलेन, प्रयास जारी

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
tin-dall-aa.jpeg

काठमाडौँ । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई सहमतिमै अघि बढाउने सम्बन्धमा प्रमुख तीन दलबीच भएको प्रयास विफल भएको छ । सहमति जुटाउन नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताबीच मोमबार सिंहदरबारमा भएको छलफल दलहरुका आ–आफ्नै अडानका कारण निष्कर्ष विहिन भएको हो ।

बैठकमा सत्ता पक्षीय दलले प्रमुख प्रतिपक्षी दल एमालेलाई अवरुद्ध संसद् खोल्न गरेको आग्रहलाई एमालेले अस्वीकार गर्दै संशोधनको प्रस्ताव संसद्बाट फिर्ता लिन माग गरेको बैठकमा सहभागि नेताले बताएका छन् । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको अडान यथावत् रहेको जानकारी दिँदै भने, ‘सरकारले संशोधनको प्रस्ताव फिर्ता लिनेबित्तिकै संसद् खुल्छ, मुलुक निर्वाचनतिर जान्छ र त्यो राम्रो हुन्छ ।’

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिको प्रस्ताव अघि बढाउने सम्बन्धमा टुङ्गो लागिनसकेको बताउँदै सहमतिका लागि वार्ता जारी रहन्छ भने । प्रस्ताव संसद्मा टेबल हुन्छ भन्ने जिज्ञासामा नेता पौडेलले त्यो सभामुखको कुरा भएको बताए । एमाले उपाध्यक्ष वामदेव गौतमले सत्तापक्षबाट अवरोध भएको बताउँदै प्रस्ताव फिर्ता लिए वा स्थगन गरे एमालेबाट भएको अवरोध हट्ने बताए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गतिरोध अन्त्यका लागि सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको बताए । ‘हामी प्रतिपक्षीसँग मुठभेडको स्थिति सिर्जना नहोस् भन्ने चाहन्छौँ । अरु प्रक्रियाका बारेमा संसद्को स्थिति हेरेर सभामुखले अघि बढाउनुुहोला’ – नेता श्रेष्ठले भने । बैठकपछि प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले सञ्चारकर्मीलाई सहमतिको प्रयास जारी रहेकाले छिट्टै निकास निस्कने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ