गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २६ शनिबार
514
Shares
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ-आफ्ना धर्मसंस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताएका छन् ।
बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित ल्होसार/ल्होछार/लोसार शुभकामना आदान-प्रदान कार्यक्रममा उनले गणतन्त्र स्थापनापछि गठन भएको ‘ककस’ले महिला र आदिवासी जनजातिका मुद्दालाई सशक्त रूपमा ल्याएकै कारण राजनीतिक जागरण पैदा भएको बताए ।
मन्त्री गुरुङले भने, “सङ्घीय लोकतान्त्रिक संविधान जारी भएपछि नेपालमा सबै जातजातिले धार्मिक, भाषिक र सांस्कृतिक दृष्टिकोणबाट समान अधिकार पाएको महसुस गरिरहेका छन् ।”
मुलुकमा एक सय २४ वटा भाषाले राष्ट्रिय भाषाको मान्यता प्राप्त गरेपछि ती भाषाभाषीले आफ्नो पहिचान स्थापित भएको रूपमा ग्रहण गरेको उनको भनाइ थियो ।
नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले सबै जातजाति र समुदायको कलासंस्कृति तथा पहिचानको संरक्षणमा स्थानीय सरकारले काम गरिरहेको बताए ।