arrow

सत्ताको भागबण्डा मिल्नेवित्तिकै राजनीतिक गत्यावरोध अन्त्य हुन्छ : बाबुराम भट्टराई

‘संविधान संशोधनपछि चुनावको मिति घोषणा गर्नुपर्छ’

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
baburamsss.jpeg
काठमाडौं। नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रमुख तीन दलवीच राजनीतिक मुद्दामा कुनै मतभिन्नता नरहेकोले सत्ताको भागबण्डा मिल्ने वित्तिकै निकास निस्किने ठोकुवा गरेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा बुझाएको ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक डा. भट्टराईले भने,‘प्रमुख तीन दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले मिलीजुली सरकार बनाएर जाँदा समस्याको समाधान हुन्छ, उहाँहरुवीच मुद्दाभन्दापनि सत्तासाझेदारीमा मनमुटाव हो।’ उनले प्रमुख दलहरुवीच कसको नेतृत्वमा चुनाव गर्ने भन्ने पनि झगडा रहेको आरोप लगाए।
 
डा. भट्टराईले भने,‘यहाँ दलहरुले मोही माँग्ने ढुङ्ग्रो लुकाउने गरिरहेका छन्, स्याडो बक्सिङ भैरहेको छ।’उनले वर्तमान राजनीतिक समस्याको समाधानको लागि नयाँ सूत्रसमेत अघि सारेका छन्। उनले सारेका सूत्रहरुमा पहिले संविधान संशोधन गर्ने, प्रदेशको र स्थानीय तहको पूर्नसंरचना गर्ने र त्यसपछि तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने रहेका छन्। उनले मुलुकको निकासको लागि तीनवटै प्रमुख राजनीतिक दलहरुले आफ्नो सत्तासाझेदारीको मुद्दालाई मिलाएर आवश्यक परे सँगै मिलेर मिलीजुली सरकार बनाएर जान तयार भए अहिलेको समस्याको हल हुने विश्वास व्यक्त गरे। 
 
उनले थपे,‘काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच एजेण्डामा त्यति ठूलो अन्तर छैन, त्यसैले तीन वटै ठूला दलहरु एक ठाउँमा बसेर मधेशी, थारु र जनजातिहरुको मुद्दापनि हाम्रो आन्तरिक मुद्दा हो भनेर स्विकार गरेर अघि बढ्नुपर्छ, उहाँहरुवीच कसको नेतृत्वमा चुनाव गर्ने भन्ने आशंका पनि छ, त्यसो हो भनेपनि मिलेर सरकार बनाएर असन्तुष्टहरुको मुद्दा संविधान संशोधन मार्फत यथोचित सम्बोधन गरेर अघि बढ्नुपर्छ। ’
 
यद्धपी भट्टराईले समय कम भएकोले आवश्यक पर्दा एकैचाटि तीन वटै निकायको निर्वाचनपनि गर्न सकिने धारणा राखे। उनले अघि थपे,‘तीन वटै निकायको चुनाव गर्न सकिन्छ, किनकी नेपाल सानो देश हो, हामीसँग समय कम छ, तर यो प्राविधिक विषय भएकोले निर्वाचन आयोगसँग छलफल गरेर निश्कर्षमा पुग्नुपर्छ।’उनले आफू पनि वर्तमान राजनीतिक गतिरोधको गाँठो फुकाउनको लागि निरन्तर वार्ता तथा छलफलमा सरिक भैरहेको उल्लेख गर्दै भने,‘नयाँ शक्ति पार्टी वैकल्पिक शक्ति भएकोलेपनि हामीलै सबै दलहरुवीच सहजीकरण गरेर अघि बढ्नको लागि प्रयत्न गरिरहेका छौं, म आँफै स्वयमपनि छलफलमा जुटेको छु, आजैमात्रै प्रधानमन्त्रीसँग भेटवार्ता भयो, अरुसँगपनि कुरा भैरहेको छ।’
 
संयोजक डा. भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेजस्तो संसदीय अभ्यास गरेर आएको पार्टीले संसद अवरोध गरिरहनु स्वयम उसको लागि समेत उपर्युक्त र शोमनीय नभएको टिप्पणी गरे। उनले अघि थपे,‘कुनैपनि बहानामा संसदको गतिरोध कायम राख्नुहुँदैन्।’ उनले काँग्रेस र माओवादी केन्द्रले पनि संविधान जारी गर्नको एमालेले खेलेको भूमिकालाई न्युनिकरण गरेर गतिरोध कायम गर्न नहुने जिकिर गरे।
उनले संविधान जारी गर्नुभन्दा पहिलेदेखि नै आफूले आन्दोलनरत मधेशी मोर्चा र थारुहरुको मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्छ भनेको स्मरण गर्दै भने,‘मैले त्यतिवेला पनि मधेशी र थारुहरुको माँगलाई सम्बोधन गरेर अघि बढ्नुपर्छ भनेको थिएँ, केही समय ढिला भए केही हुँदैन भन्दा उहाँहरु मान्नुभएन, किन हो त्यो त मलाई थाहा छैन, तर आज आएर मैले भनेका कुराहरु प्रमाणित भएका छन्।’
 
उनले आफ्नो पार्टीले चुनावमा भाग नलिउञ्जेलसम्म सरकारमा सहभागी नहुने जिकिर गरे। पछिल्लो समय संघीय गठबन्धनका संयोजक समेत रहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग तपाईको पार्टीको एकता हुँदैछ भन्ने कुरा आएको छ, यो एकता प्रक्रिया कहाँ पुग्यो भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘अब विषयकेन्द्रित कार्यगत एकता हो, सहकार्य मात्रै हो, अहिले पार्टी एकता हुँदैन, पछि हुन सक्छ, संविधानलाई अग्रगामी तरिकारले संशोधन गरेर जानुपर्छ भन्ने हाम्रो साझा मान्यता हो।’ 
 
त्यस्तै उनले नेकपा माओवादी केन्द्रसँग त पार्टी एकता हुनै नसक्ने दाबी गरे। उनले भने,‘यो सम्भव छैन, उहाँहरुलाई त छोडेर पार्टी नै अर्को पार्टी...., वल्लो किनारा र पल्लो किनारा भएपछि कहाँ भेट हुन्छ त ? हेर्दाखेरि नजिक जस्तो लाग्छ, तर वल्लो किनारा र पल्लो किनाराको भेट कहाँ हुन्छ ?’उनले आफ्नो पार्टीले घरघरमा नयाँ शक्ति भनेर आगामी जेठसम्म ६ महिने अभियान नै चलाएको बताए। उनले भने,‘हामी घर घरमा नयाँ शक्तिको अभियान लिएर जाँदैछौं, नयाँ शक्ति वैकल्पिक शक्ति हो, आर्थिक समृद्धितर्फ मुलुकलाई अघि बढाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो।’
 
क्लबका सभापति ऋषि धमलाले प्रमुख दलहरुवीच तत्काल सहमति, सहकार्य र एकताको खाँचो औंल्याउँदै सहमतिमै संविधान संशोधन गरेर संविधान कार्यान्वयनमा जुट्नको लागि आग्रह गरे। उनले भने,‘संविधान कार्यान्वयनको लागि पनि तत्काल सहमतिमै तीन वटै निकायको चुनावको मिति घोषणा गर्नुपर्छ, यसको लागि क्लबले निरन्तर दबाबमूलक अभियान जारी राख्छ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ