arrow

धुर्कोट कार्यसम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेशको पहिलो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
dhurkot-gaupalika-2081.jpg

तम्घास । कार्यसम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेशमा गुल्मीको धुर्कोट गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को तथ्याङ्कानुसार लुम्बिनी प्रदेशका गाउँपालिका मध्येमा धुर्कोट गाउँपालिका प्रथम भएको हो । 

आयोगका अनुसार धुर्कोटले ७६ दशमलव सात अङ्क प्राप्त गरेको छ । प्रदेशमा गाउँपालिकाको तर्फबाट गुल्मीको रूरूक्षेत्र गाउँपालिका दोस्रो र छत्रकोट गाउँपालिका तेस्रो भएका छन् । 

रूरू क्षेत्रले ७६ दशमलव दुई र छत्रकोटले ७४ दशमलव आठ अङ्क प्राप्त गरेका छन् । देशभरका सात सय ५३ पालिकामध्ये धुर्कोट १०औँ स्थानमा रहेको छभने लुम्बिनी प्रदेशका एक सय नौ पालिकामध्ये तेस्रो स्थानमा छ । 

प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा पालिकाको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि–२०७८ अनुसार अङ्क प्रदान गर्दछ । असार १० भित्र बजेट पेस गरेरनगरेको, असार मसान्तभित्र बजेट पास गरेरनगरेको, वार्षिक बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे–नगरेको, विनियोजित रकमअनुसार खर्चको अवस्था, बेरूजु, आवधिक योजनाको तर्जुमा, कक्षा १ देखि ८ सम्म विद्यार्थी भर्ना दरलाई वित्त आयोगले सूचकको रूपमा मापन गरेको छ । 

त्यसैगरी कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा एक दशमलव छ वा सोभन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, चारपटक गर्भजाँच गरेको महिलाको अनुपातलगायत १७ सूचकका आधारमा वित्त आयोगले अङ्क प्रदान गर्ने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

आयोगको तथ्याङ्कानुसार गुल्मीको रेसुङ्गा नगरपालिका ७४ दशमलव चार, गुल्मीदरबार गाउँपालिकाले ६४ दशमलव दुई, मदाने गाउँपालिकाले ६८ दशमलव नौ अङ्क प्राप्त गरेका छन् । 

मालिकाले ७३ दशमलव छ, इस्माले ५६ दशमलव छ, मुसिकोटले ६१ दशमलव चार, चन्द्रकोटले ६२ दशमलव दुई, सत्यवतीले ६३ दशमलव छ तथा कालीगण्डकीले ६० दशमलव दुई अङ्क प्राप्त गरेका छन् ।
 
गाउँपालिकाका अध्यक्ष पोखरेलले कर्मचारी, जनप्रतिनिधि र सिङ्गो समुदायको सहयोगका कारण यो सफलता हासिल भएको बताए । 

यसभन्दा अगाडि पनि धुर्कोट गाउँपालिका उत्कृष्ट भएको भन्दै उनले अहिलेको सफलता जोगाइराख्नु चुनौतीपूर्ण रहेको उल्लेख गरे । 

स्थानीय तहमा हुने सीमित स्रोत र साधनका बाबजुद पनि प्रभावकारी काम गर्न सकेकामा उनले खुशी व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ