arrow

अग्निपीडितलाई एक करोड दिन्छु : प्रधानमन्त्री

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
PM-ko-udghosh.jpeg

तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहालले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका अग्निपीडितको पुनःबासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । मंगलबार आगलागी भएको स्थानको निरीक्षणपछि प्रधानमन्त्रीले राहतको विशेष प्याकेज दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘आगलागीले बजार ध्वस्त भएको छ, तपाईहरु घरबारविहीन हुनुभएको छ । प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछु ।

संक्रान्ति बजारमा दमकलको व्यवस्था गर्नेछु, खानेपानी समस्या समाधानका खानेपानी आयोजना सञ्चालन गर्ने, बजारको पूनस्र्थापना र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने कुरा पनि म यहाँहरुको बीचमा अवगत गराउँछु ।’

दाहालले अगाडि भने, ‘सानो भएपनि संक्रान्ति बजार ऐतिहासिक महत्व बोकेको ठाउँ हो । यहाँ आगलानीले ३२ घर र ५६ परिवारमा क्षति भएको छ । यसको आफ्नै ऐतिहासिक छ । यसको पुनःनिर्माण सरकारको प्राथमिकतामा छ । म तपाईहरुसँग दुःख र भावना साट्न यहाँ आएको छु । तेह्रथुम नेपालको राजनीति र सत्तामा स्थापित नेताहरु जन्मिएको ठाउँ हो । यसले मलाई थप जिम्मेवारी महशुस भएको छ ।’

संकटका बेला एकतावद्ध हुने नेपाली संस्कार भएको भन्दै प्रधानमन्त्रीले दाहालले भने, ‘१२ बुंदेबाट सुरु भएको सहकार्यको यात्रा अहिले पनि जारी छ । हामी मिलेर मात्रै ठूलठूला सङ्कट समाधान गरेका छौं । अहिले हामी संविधान कार्यान्वयनको चरणमा छौं, त्यसका लागि संसदको गतिरोध हट्न जरुरी छ । मलाई विश्वास छ, राजनीतिक गतिरोध सम्वादकै माध्यमबाट समाधान गर्नेछौं । हामी छिटै राजनीतिक गतिरोध चिरेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानेछौं ।’

निर्देशनपूर्व प्रधानमन्त्रीले संक्रान्ति बजारको आगलागी स्थलको निरीक्षण गरेका थिए । निरीक्षणपछि प्रधानमन्त्रीसहित जिल्लाका सांसद र जिल्ला दैवीप्रकोप उद्दार समितिका सदस्यहरुको बैठकले क्षतिग्रस्त ३२ घर र ५६ परिवारका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा, सांसदहरु सीता गुरुङ, गणेश बिमल, भवानी खापुङ, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत सहभागि थिए ।

गत पुस १ गते दिउँसो लागेको आगलागीबाट संक्रान्ति बजारका ३२ घर जल्दा  ५६ परिवार विस्थापित भएका थिए । आगलानीबाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्याङ्कन गरिएको प्रमुख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिए । पीडितहरुलाई सरकारले प्रतिघर १० हजार राहत, सरकारको तर्फबाट अस्थायी टहरा बनाएको छ, भने विभिन्न संघ संस्थाले खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ