बालबालिकाका लागि विराटनगरमा पहिलो पटक ‘किडोपिया स्टुडियो’
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
575
Shares
विराटनगर । बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन, र सिर्जनात्मक विकासलाई ध्यानमा राख्दै विराटनगरमा पहिलो पटक आधुनिक सुविधा सम्पन्न ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ।
व्यस्त अभिभावकहरूका लागि ठूलो सहजता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो डे केयर केन्द्रले बालबालिकाका लागि सुरक्षित, मनोरञ्जनात्मक तथा ज्ञानवर्द्धक वातावरण उपलब्ध गराउने सञ्चालकको दाबी छ।
‘किडोपिया स्टुडियो’ ले बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिँदै विभिन्न अत्याधुनिक सुविधा समेटेको छ। यसमा इनडोर तथा आउटडोर खेल क्षेत्र, पुस्तकालय, दृश्य-श्रव्य शिक्षण (एभी) कोठा, आईटी तथा आर्ट एन्ड क्राफ्ट स्टुडियो जस्ता सिर्जनात्मक गतिविधिहरू समावेश रहेको बताइएको छ ।
साथै तार्किक सोच तथा समस्या समाधान क्षमताको अभिवृद्धि गर्न ब्रेन गेम तथा पजल्सको विशेष व्यवस्था गरिएको छ। बच्चाहरूको पोषण तथा स्वास्थ्यलाई ध्यानमा राख्दै प्रोटिनयुक्त स्वस्थ्य भोजनको आपूर्ति गरिएको छ भने आकस्मिक स्वास्थ्य सहायता उपलब्ध गराउन प्राथमिक उपचार (फर्स्ट एड) सेवाको व्यवस्था गरिएको छ।
बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै ‘किडोपिया स्टुडियो’ मा गेटेड सेक्युरिटी अर्थात् निगरानीयुक्त सुरक्षित वातावरण निर्माण गरिएकोसमेत सञ्चालकको दाबी छ।
प्रशिक्षित शिक्षक तथा अनुभवी स्टाफको साथमा बच्चाहरूले खेल्दै-खेल्दै सिक्ने अवसर पाउनेछन्, जसले उनीहरूको मानसिक, शारीरिक तथा सामाजिक विकासलाई सघाउने विश्वास लिइएको छ।
विराटनगर-१० मा अवस्थित ‘किडोपिया स्टुडियो’ हप्ताको सातै दिन बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुने पनि जनाइएको छ।