arrow

यस वर्षकै बाग्लो हिमपात पाथीभरामा, तीर्थयात्रीलाई गरेन असर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १० शनिबार
himpat-pathibhara-81-11-10.jpg

फुङ्लिङ् । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । 

त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो । गएराति भने निकै बाग्लो हिमपात भएको छ । 

महतले भने, “यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो । तर अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ । यस वर्षकै बाग्लो हिमपात भएको छ ।”

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात भए पनि पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । 

उनका अनुसार पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन् । 

विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउले पुरेर नदेखिने हैरानी खेप्न परेको थियो । 

तर विस्तारै विकास समितिले पदमार्गमा फाइबरको छानो लगाउन थालेसँगै हिमपात तथा पानी पर्दासमेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको भनाइ छ । 

पाथीभारा क्षेत्र विकास समितिका अनुसार आज ३०० जना तीर्थयात्रीहरू पाथीभरा धाममा पूजापाठ गरेको समितिले जनाएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ